विनयीत्रिवेणीका मोतियाबिन्दु भएका व्यक्तिहरूको निःशुल्क शल्यक्रिया


 



चोरमारा । विनयी त्रिवेणी गाउँपालिकाले गाउँपालिका भित्रका मोतियाबिन्दु भएका व्यक्तिहरुको निःशुल्क शल्यक्रिया शुरु गरेको छ । गाउँपालिकाको विभिन्न पाँच वटा केन्द्रमा मोतियाबिन्दु परिक्षण गरेको थियो । सात सय ९५ जनाको मोतियाबिन्दु परिक्षण गर्दा एक सय ६१ जनालाई मोतियाबिन्दु देखिएको गाउँपालिकाका उपाध्यक्ष भगवती बैदवार क्षेत्रीले बताउनुभयो ।

गाउँपालिकाले मोतियाबिन्दु भएका व्यक्तिहरुको छनोटका लागि नेत्रज्योती संघ नवलपरासी पूर्व र नेत्रज्योती संघ, भरतपुुर आँखा अस्पताल, चितवनसंगको समन्वयमा चैत्र ३ गते बेनिमणीपुर स्वास्थ्य चौकी सर्दी र कुडापानी स्वास्थ्य इकाईमा मोतियाबिन्दु परिक्षण गरिएको थियो ।



यस्तै चैत्र ४ गते विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ का लागि त्रिवेणी सुस्ता स्वास्थ्य चौकी, त्रिवेणीमा परिक्षण गरिएको उपाध्यक्ष बैदवारले जानकारी दिनुभयो । चैत्र ५ गते भानुदय माध्यामिक विद्यालय, दुम्कीबास र विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ को वगुवन क्षेत्रमा मोतिया बिन्दु परिक्षण गरिएको हो ।

मोतियाबिन्दु परिक्षणबाट मोतियाबिन्दु देखिएका एक सय ६१ जनालाई बुधवार र बिहिबार भानुदय माध्यामिक विद्यालय दुम्कीबासमा शल्यक्रियाको व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । विगतमा मोतियाबिन्दु परिक्षण स्थानीय स्तरमा गरेर कावासोती, चितवन, हेटौडा लगायतको स्थानमा शल्यक्रियाको लागि लगिने गरेकोमा यस पटक स्थानीय स्तरमा नै शल्यक्रियाको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । गाउँपालिकामा गत वर्ष एक सय २६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

विभिन्न स्थानमा गरिएको परिक्षण शिविरबाट मोतियाबिन्दु भएका व्यक्तिहरुको शल्यक्रिया गर्नुपूर्व गर्नुपूर्व सुगर लगायत अन्य परिक्षणहरु गरे पस्चात मोतियाबिन्दुको शल्यक्रिया गरिने भरतपुर आँखा अस्पताल चितवनकी डा. पुष्पा गिरी श्रेष्ठले जानकारी दिनुभयो । परिक्षणको क्रममा अधिकाम्समा उमेरसंगै देखिने मोतियाबिन्दु देखिएको उहाँले बताउनुभयो ।

मोतियाबिन्दु शल्यक्रियाका लागि पालिकाको विभिन्न स्थानबाट बुधवार बिहानैबाट शल्यक्रिया हुने भानुदय मा.वि. मा मोतियाबिन्दु भएका व्यक्तिहरु आइपुग्नु भएको थियो । नेत्रज्योती संघ, नवलपरासी पूर्वले विनयी त्रिवेणी गाउँपालिकालाई गरेको अनुरोध अनुरुप गाउँपालिकाको समेत अग्रसरतामा मोतियाबिन्दु परिक्षण शिविर र शल्यक्रिया सम्भव भएको संघका जिल्ला सचिव उदयराज सिग्देलले बताउनुभयो । हुप्सेकोट गाउँपालिकामा समेत तत्काल मोतियाबिन्दु परिक्षण र शल्यक्रिया कार्य सञ्चालनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

आँखाको शल्यक्रिया पस्चात आखा देख्ने विश्वास शिविरमा सहभागी मोतियाबिन्दु भएका व्यक्तिहरुको छ । नवलपुर जिल्लामा विभिन्न संस्थाको आयोजनामा प्रत्येक वर्ष मोतियाबिन्दु परिक्षण तथा शल्यक्रिया हुदै आएको छ । यधापी उमेर अनुसार हुने मोतियाबिन्दुको दर उच्च रहेको मोतियाबिन्दु शल्यक्रियाका लागि काम गरिरहेको नेतज्योती संघ नवलपरास पूर्वका सदस्य दिवाकर पौडेलले बताउनुभयो ।


सम्बन्धित
Loading...