एमालेलाई ८४ मा निर्णायक राष्ट्रिय शक्तिको रुपमा उभ्याउँछौंः प्रधानमन्त्री ओली
रामकुमार श्रेष्ठ –
नवलपुर । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा उभ्याउने बताएका छन् । आज नवलपुरका गैडाकोटमा नेकपा एमालेका स्थानीय नेता कार्यकर्ता तथा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्बोद्धन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मिसन ८४ लाई एमालेले आफ्नो पार्टीलाई निर्णयक शक्तिको रुपमा उभ्याउने गरी लाग्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन पनि दिए । उनले एमालेलाई सिद्धाउने भनेर पार्टी फुटाउनेदेखिका काम गर्दा पनि अघिल्लो निर्वाचनमा एमालेलाई राष्ट्रिय शक्तिको रुपमा उभ्याउन सकेको बताउँदै अबको निर्वाचनमा एमालेले जितको मानसिकताले चुनाव लड्ने गरी लाग्न निर्देशन दिए । त्यसका लागि पार्टी भित्र एकताबद्ध लाग्नु पर्नेमा उनले जोड दिए ।
उनले पार्टीले चलाएको जरा अभियानलाई जरा सम्म पुर्याउन आग्रह गर्दै पार्टी भित्र अन्तरविरोध नराख्न आग्रह पनि गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर जिल्लाको नाम नवलपुर राख्न पहल गर्ने बताए । त्यसका लागि यहाँका जनप्रतिनिधिहरुले प्रदेश सरकार मार्फत सच्याइ पाउँ भनेर निवेदन दिन ओलीले आग्रह गरे । प्रधानमन्त्री ओलीले संविधान संशोधन मार्फत नवलपुर जिल्ला नामाकरण गर्ने कार्यक्रममा प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले नवलपुर र यहाँ रहेका नगरपालिका र गाउँपालिकाका प्रमुख एवम् अध्यक्षहरुले विभिन्न माग राख्दै प्रधानमन्त्री ओली समक्ष ज्ञापन पत्र बुझाएका थिए । उक्त ज्ञापन पत्र बुझ्दै एमाले अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीले ज्ञापन पत्रहरु अध्ययन गरेर माग पुरा गर्न लाग्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल नारायणगढ सडक विस्तार कामको अनुगमन गर्ने भनिए पनि उनले गैडाकोट खण्डको मात्र अनुगमन गरेर कामको बारेमा जानकारी लिएका थिए ।