आइतबारदेखि अनिवार्य पठनपाठन सुरु गर्न हुप्सेकोट गाउँपालिकाको अपिल

नवलपुर, बैशाख ११ गते ।
नवलपुरको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न आग्रह गरेको छ ।
गाउँपालिकाले आज बिहीबार सूचना निकालेर नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै विद्यार्थी भर्ना अभियान तथा नियमित पठनपाठन सञ्चालन गर्न विशेष आग्रह गरेको हो । गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डले सूचना निकालेर प्रकृया पुरा गरी शिक्षकहरुका माग पुरा गर्न समय लाग्ने भन्दै विद्यालय सञ्चालन गर्न आग्रह गरेकी हुन् ।
‘‘देशभरका शिक्षक र विद्यालय कर्मचारीहरूको संविधान सम्मत माग पुरा गर्न नेपाल सरकारले भोलिदेखि नै संसद्को अधिवेशन आव्हान गरिसकेको र ऐन तथा नियमावली निर्माण एक कार्यविधिगत प्रक्रिया रहेकाले विधेयक संसदमा प्रस्तुत गर्नेदेखि विषयगत समितिमा दफावार छलफल एवं पारित गर्ने क्रममा अझै केही समय लाग्ने हुँदा विद्यालय सञ्चालन गर्न आग्रह गर्दछु,’’ सूचनामा भनिएको छ ।
जिल्लाका निजी विद्यालयहरुले पठनपाठन सुरु गरिसकेका छन् भने सरकारी विद्यालयहरुमा शिक्षकको आन्दोलनका कारण पढाई सुरु नै भएको छैन । जसले गर्दा भर्ना अभियान पनि प्रभावित भएको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएपश्चात् दुई हप्ता बितिसक्दा समेत पठन पाठन नहुँदा प्रत्येक गाउँ÷टोलबाट अभिभावक, शैक्षिक सरोकारवाला एवं स्वयं विद्यार्थीहरूले समेत यथाशीघ्र पठन पाठन सञ्चालन गर्न व्यापक गुनासो गरिरहेको सूचनामा उल्लेख छ ।
त्यसैले अन्तर मनदेखि मनन गरी बैशाख १४ गते आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न प्रधानाध्यापक, शिक्षक एवं विद्यालय कर्मचारीहरूलाई पालिकाले अनुरोध गरेको छ । विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयबाट त्यसको अनुगमन गर्न समेत भनिएको छ ।
