नवलपुरका निजी विद्यालयमा मनपरी शुल्क असुलेको विद्यार्थीको आरोप




नवलपुर । नवलपुरका निजी विद्यालयहरुले मनपरी शुल्क वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघ नवलपुरले निजी विद्यालयको शुल्क घटाउन माग गरेका छन् ।

सामुदायिक विद्यालय बन्द रहेको अवस्थामा नवलपुरका निजी तथा संस्थागत विद्यालयहरुले अत्यधिक शुल्क वृद्धि गरेको अभिभावकहरुले गुनासो गर्दै आएका थिए ।



नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीको नेतृत्वमा प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीलाई वृद्धि भएको शुल्क घटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

त्यसैगरी निजी तथा संस्थागत विद्यालयले दिनु पर्ने १० प्रतिशत छात्रवृद्धिको पनि दुरुपयोग भएको विद्यार्थी संगठनको आरोप छ ।

नेविसंघ नवलपुरले ५ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाएपछि जारी गरेको विज्ञप्तिमा विद्यार्थीबाट अनावश्यक शुल्क नलिन, ड्रेस र पुस्तक विद्यार्थीहरुलाई जबरजस्ती विक्री नगर्न र शुल्क निर्धारणलाई पारदर्शी र नियमसंगत गराउन पनि माग गरेको छ ।

त्यसैगरी कावासोती नगरपालिका भित्र रहेका नीजि विद्यालयहरुले अत्यधिक शुल्क वृद्धि गरेको जनगुनासो बढेपछि कावासोती नगरपालिकाले निजी विद्यालयसँग छलफल अगाडि बढाएको छ ।

कावासोती नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमचन्द्र न्यौपानेले शुल्क वृद्धिको गुनासो आएपछि नगरपालिकाले अभिभावकसँग शुल्क वृद्धिको विवरण पेश गर्न पत्राचार गरेको बताए ।

त्यसैगरी मनपरी शुल्क वृद्धि गरेको आरोप लागेका कावासोती नगरपालिका भित्र रहेका संस्थागत तथा निजी विद्यालयहरुले अभिभावकसँग शुल्क वृद्धिको निर्णय अनुमोदन गरी शुल्क वृद्धि गर्नु पर्नेमा त्यसो नगरेको पाइएको छ ।

प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीले विद्यार्थीहरुको माग प्रति आफ्नो ध्यानाकर्षण भएको बताए । प्याब्सन अध्यक्ष अधिकारीले नगरपालिका मार्फत यस्ता विषयहरु अनुगमन गर्नु पर्नेमा जोड दिए ।



सम्बन्धित
Loading...