नवलपुरका विद्यालय कर्मचारीद्वारा तलव वृद्धि लगायतका माग

रामकुमार श्रेष्ठ –
नवलपुर । नेपाल विद्यालय कर्मचारी परिषद नवलपुरले विभिन्न माग राख्दै नवलपुरका पालिकाहरुमा ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका लगायतका पालिकाहरुमा ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा नेपाल शिक्षक महासंघले विद्यालय कर्मचारीको माग विपरित सरकारसँग सम्झौता गरेर धोका दिएको उल्लेख गर्दै आफूहरुको न्यूनतम तलब मान मापन लगायतका माग पुरा गर्न पालिकाहरुसँग माग गरेका हुन् ।
विद्यालय सहायक लेखापालको हकमा ३४ हजार ९ सय २ रुपैयाँ, विद्यालय सहयोगकीको हकमा २६ हजार ८२ रुपैयाँ काम हुनु पर्ने, विरामी विदा सञ्चित हुनु पर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध हुनु पर्ने, हालसम्मका सहमति कार्यान्वयन हुनुपर्ने, सम्मानित सर्वोच्च अदालतको आदेश लागू हुनुपर्ने, शिक्षा ऐन तत्काल जारी हुनुपर्ने लगायतका मागहरु राखेका हुन् ।
