डलर सहटी गर्ने भनि झुक्काएर ३० लाख ठगी गर्ने दुई जना पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपुर । झण्डै दुई महिना अघि अमेरिकी डलर सटही गर्ने भन्दै झुक्काएर ३० लाख रुपैयाँ ठगि गर्ने २ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले नवलपुरको गैडाकोट नगरपालिका ३ स्थित ढोडेनी जंगलमा अमेरिकी डलर सटही गर्ने भनि ३० लाख रुपैयाँ ठगेर फरार भएका थिए ।
प्रहरीले ठगी गर्ने भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका ३ दुवाकोट निवासी ३८ बर्षीय ताराबहादुर तामाङ र भक्तपुर जिल्लाकै बाह्रविसे नगरपालिका ३ निवासी २३ बर्षीय गौतम डुम्जङलाई पक्राउ गरेको हो ।
उनीहरुलाई भक्तपुर तथा मकवानपुरमा लुकीछिपी बसेको सूचनाको आधारमा खोजतलास गर्ने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई ठगिको रकम प्रमाण सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए । उनीहरुलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाप सम्बन्धी कसुरमा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
फोन सम्पर्कको भरमा दाङ घर भएका दुई जनाले अपरिचित मान्छेसँग नेपाली रुपैयाँसँग डलर सटही गर्न खोज्दा ठगिमा परेका थिए ।
दाङको घोराही नगरपालिका १७ हरिद्वार टोल निवासी ३९ बर्षीय कबिराज खड्का र ४५ बर्षीय ओमबहादुर पुन मगरले २ जनासंग गैडाकोट नगरपालिका ३ अरेलीपारी स्थित ढोडेनी जंगलमा तीस लाख नेपाली दिएर डलर साटेका थिए ।
उनीहरुले कुन प्रयोजनका लागि डलर साट्न खोजेको खुल्न नआएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए । उनका अनुसार डलर सस्तोमा पाउने लोभमा डलर साटेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको नेपालले बताए ।
तत्काललाई अबैध सटहीमा कारोवार भएको रकम नियन्त्रणमा लिई ठगी गर्नेको खोजतलास गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । उनीहरुले झोलामा केही अमेरिकी डलर माथिबाट राखेर भित्र ५ र २० का नेपाली रुपैयाँ राखेर ठगेको पाइएको थियो ।