सरकारको अनुमतिबिना गैरसरकारी संस्थाले स्थानीय तहमा कार्यक्रम गर्न नपाउने
काठमाडौं : सरकारको अनुमतिबिना स्थानीय तहमा कुनै पनि कार्यक्रम संचालन गर्ने गैर सरकारी संस्थाहरूलाई प्रतिबन्ध लाग्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिबिना कुनै पनि गैरसरकारी संस्थाहरूलाई छुट्टै कार्यक्रम संचालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिएका हुन्।
सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरूले आफ्ना कार्यक्रम संचालन गर्नसक्ने मन्त्री पण्डितले जानकारी दिए। बिहीबार काठमाडौंमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार संचालन ऐन’ परिमार्जन गर्न लागिएको जानकारी दिए।
मन्त्री पण्डितले स्थानीय तहलाई जनताको कामप्रति जवाफदेही बनाउन सरकारले सो ऐन परिमार्जन गरेर अघि बढ्ने निष्कर्ष निकालेको पनि बताए। मन्त्री पण्डितले संघीय सरकार संविधानअनुसार चलेको र संविधानको परिधिभित्र रहेर स्थानीय तहलाई जनताको अपेक्षा अनुसार काम गर्न सक्ने बनाउन आवश्यक कार्यक्रम संचालन गर्न लागि परेको दाबी गरेका थिए।