विपन्न परिवारलाई प्राकृतिक अस्पतालमा देवचुली नगरपालिकाले निशुल्क उपचार गराउने
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले रजहरमा रहेको प्राकृतिक चिकित्सालयको उपचार पद्दतिलाई नगरपालिकाको नीति तथा कार्यक्रममा समेटेको छ ।
आज रजहरको प्राकृतिक चिकित्सालयमा पत्रकारहरुसँग बोल्दै देवचुलीका नगर प्रमुख हरि न्यौपानेले यस बारे जानकारी दिएका हुन् । उनले देवचुली नगरपालिकाले सोमबार पास गरेको नीति तथा कार्यक्रममा रजहरको प्राकृतिक चिकित्सालयको उपचार पद्धतिलाई समेटेको जानकारी दिए ।
त्यसैगरी नगर प्रमुख हरि न्यौपानेले देवचुली नगरपालिका भित्र रहेका विपन्न परिवारलाई रजहरको प्राकृतिक चिकित्सालयमा आर्थिक अभावकै कारण उपचार गर्न नपाउने अवस्था नआउने बताए । उनले नगरपालिका भित्रका गरिब तथा विपन्न परिवारले यहाँ उपचार गर्न चाहे र आर्थिक अवस्थाले उपचार गर्न नसक्ने अवस्था आए नगरपालिकाले आफै खर्च व्यहोरेर उपचार गर्ने व्यवस्था मिलाएको पनि बताए ।
त्यसैगरी आफू धेरै अस्पतालमा उपचारमा गएपछि रोक निको नभएको तर यहाँ आएर उपचार गरेपछि आफ्नो दश बर्ष पुराना रोगहरु पनि निको भएको बताए ।
उनले आफूले यस उपचार पद्धतिको बारेमा जानकारी पाएपछि यसलाई देशभर लैजानु पर्छ भन्ने उद्देश्यले कम्तिमा गण्डकी प्रदेशका स्थानीय तहका सबै जनप्रतिनिधि माझ प्राकृतिक उपचार पद्धतिबारे जानकारी गराउने गरी भेटघाट तथा प्रचारप्रसार गर्न नगरपालिकाकै पहलमा कार्यक्रम राखिएको पनि बताए ।