नवलपुरमा विश्वज्योति माविको उत्कृष्ट प्रदर्शनः दुई जनाको ४.०० जिपिए, ९६.७ प्रतिशत विद्यार्थी ग्रेडेड




दीपक भट्टराई–

नवलपुर असार १४ – नवलपुरको देवचुली नगरपालिका–१५, प्रगतिनगरमा अवस्थित विश्वज्योति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा जिल्लामै उल्लेखनीय सफलता हात पारेको छ।



विद्यालयबाट परीक्षामा सहभागी ५९ जना विद्यार्थीहरूमध्ये दुई जना छात्राले पूर्ण ४.०० जिपिए ल्याउँदै जिल्लाको पहिलो विद्यालय बन्न सफल भएको छ।

 

विद्यालयका प्रधानाध्यापक डा. प्रदीप बास्तोलाका अनुसार छात्रा लक्ष्मी श्रेष्ठ र सुमिना केसीले पूर्ण ४.०० जिपिए नतिजा प्राप्त गरेका हुन्। “हामीले शिक्षण–सिकाइमा निरन्तर प्राथमिकता दियौं। अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालय प्रशासनबीचको समन्वयले नै यो नतिजा सम्भव भएको हो,” डा. बास्तोलाले प्रतिक्रिया दिए।

विद्यालयले सार्वजनिक गरेको नतिजा विवरणअनुसार:२७ जनाले ३.६० देखि ४.०० जिपिए,१९ जनाले ३.२० देखि ३.६०,१० जनाले २.८० देखि ३.२०,१ जनाले २.४० देखि २.८० जिपिए प्राप्त गरेका छन्। यसरी कूल ५९ परीक्षार्थीमध्ये ५७ जना विद्यार्थी ग्रेडेड भएका छन्, जसअनुसार विद्यालयको ग्रेडिङ प्रतिशत ९६.७ प्रतिशत पुगेको छ।

विद्यालयले पछिल्ला केही वर्षयता शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न रणनीतिहरू अपनाउँदै आएको छ। नियमित आन्तरिक मूल्याङ्कन, अभिभावकहरूसँग नियमित संवाद, अतिरिक्त कक्षा सञ्चालन, र शिक्षण सामग्रीमा निरन्तर लगानीजस्ता कार्यले परिणाम सुधारमा सहयोग पुर्याएको प्रधानाध्यापक बास्तोलाले बताए।

४.०० जिपिए ल्याउने छात्रा लक्ष्मी श्रेष्ठ र सुमिना केसीले आफ्नो उपलब्धिमा विद्यालय, शिक्षक र अभिभावकहरूको योगदान महत्वपूर्ण रहेको बताए।

“निरन्तर अभ्यास, समय व्यवस्थापन र सिकाइप्रतिको लगावले हामी यो स्थानमा पुग्न सफल भएका उनीहरूको भनाई छ। जिल्लामा एकै पटक दुई जनाले पूर्ण जिपिए ल्याउन सफल भएको विश्वज्योति मावि पहिलो बन्न सफल भएको हो।



सम्बन्धित
Loading...