कावासोतीमा स्कूले छात्राहरुलाई अभद्र व्यवहार गर्ने पक्राउ, ५ जना बालिकाले उजुरी दिए 




रामकुमार श्रेष्ठ –

नवलपुर । नवलपुरको कावासोती १४ त्रिभुवनटार स्थित जनता माविका छात्राहरुलाई दुव्यवहार  गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।




पुस्तक पसलमा सामान किन्न जाने क्रममा छात्राहरुलाई दुव्र्यवहार गर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जनता मावि स्कुल नजिकै रहेको सुजन पुस्तक पसलका सञ्चालक ४८ बर्षीय मदन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

ढकालका अनुसार छात्राहरुलाई दुव्र्यवहार  गरेको जाहेरी परेपछि जाहेरीको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेको श्रेष्ठले पुस्तक पसलमा आउने बालिका तथा छात्राहरुलाई हात समाउने, सुम्सुम्याउने, मुसार्ने जस्ता क्रियाकलाप गरिरहने तर बालिकाहरुले भन्न नसकिरहेको खुल्न आएको छ । एउटा बालिकाले यस घटनाको बारेमा घर अभिभावकलाई जानकारी गराएपछि अभिभावकले विद्यालय हुँदै प्रहरीसम्म घटना पुगेको विद्यालय प्रशासनले जनाएको छ ।

प्रहरी उपरीक्षक ढकालका अनुसार पक्राउ परेको श्रेष्ठ उपर अनुसन्धान भईरहेको छ । घटना बाहिर आएपछि विद्यालय परिषरमा दोषी उपर कारवाही गर्नु पर्ने माग  गर्दै विद्यार्थीहरुले नाराबाजी समेत गरेका थिए ।

प्रहरीले उनलाई पक्राउ गरेपछि स्थिति सामान्य बनेको थियो । पक्राउ परेका श्रेष्ठ यस अघि पनि जुवा तास खेल्ने अभियोगमा पक्राउ परेर सजाय भुक्तान गरेका थिए भने एक जना युवतीलाई जबरजस्ती करणी गरेको आरोप पनि उनीमाथि रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिला  भण्डारीले दुव्यर्वहारमा परेको ५ जना छात्रा र उनका अभिभावकले प्रहरीमा उजुरी गरेका छन् । त्यसैगरी विद्यालय व्यवस्थापन समितिको वैठकले अर्को छुट्टै पुस्तक पसल सञ्चालनको लागि पहल गर्ने निर्णय गरेपछि विद्यार्थीको आन्दोलन साम्य भएको बताए ।



सम्बन्धित
Loading...