नवलपुरमा अवैध रुपमा डिजेल बेच्ने पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको देवचुली नगरपालिका १ दुम्कौलीमा अवैध रुपमा डिजेल विक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली १ दुम्कौलीमा अवैध रुपमा डिजेल विक्री गर्ने देवचुली १७ फारम निवासी प्रेम प्रसाद पौडेललाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट डिजलसहित भरेको २० लिटरको १८ वटा ग्यालेन र १० लिटरको १ वटा ग्यालिन गरी जम्मा ३ सय ७० लिटर डिजल बरामद गरेको जनाएको छ ।
त्यसैगरी २० लिटरको ३१ वटा खाली ग्यालिन पनि बरामद गरेको जनाएको छ । पक्राउ परेकालाई आवश्यक कारवाही अगाडि बढाएको नवलपुर प्रहरीले जनाएको छ ।
नवलपुरमा पेट्रोल पम्प नभएको बजारहरुमा पसल पसलमा बोतलमा भरेर डिजल पेट्रोल विक्री गर्ने गर्दछन् ।
ट्रक चालकले गाडीबाट निकालेर सस्तोमा बेचेको डिजेल किनी अरु ट्रक चालकलाई सस्तोमा बिक्रि वितरण गरेको हुन सक्ने आशंकामा अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए । पक्राउ परेका पौडेललाई कालो बजारीकरण ऐन अनुसार कारवाही गर्ने प्रहरीको तयारी छ ।