रेशम चौधरीलाई सिक्रीले बाँध्नेलाई तत्काल कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन् ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन दाहालले जानकारी दिए ।
टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको थियो ।
समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै गएर भेटेका थिए । उनले सरकारको व्यवहारको आलोचना गर्दै नेल तत्काल खोल्न माग गरेका थिए ।