गैडाकोटमा दुर्घटना, दुई जनाको घटना स्थलमै मृत्यु, मृतकको पहिचान खुल्यो

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको गैडाकोटमा भएको सवारी दुर्घटनामा परी घटना स्थलमै दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका १० सिस्नेपुल स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले स्कुटीलाई ठक्कर दिंदा भएको दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो
गैडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना ५ ख ८४१७ नम्बरको ट्रकले कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको लु ५५ प ३१३४ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी ट्रक चालक बारा परवानीपुर गाउँपालिका १ निवासी ३५ बर्षीय रिजवान मियाँ र स्कुटर चालक कावासोती वडा नं. ३ निवासी ५२ दल बहादुर सुनार बिकको घटना स्थलमै मृत्यु भएको स्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए । उनका अनुसार दुवै जनाको घटना स्थलमै मृत्यु भएको हो ।
ट्रक चालक ट्रक भित्रै च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको थियो भने स्कुटी चालकलाई ट्रकले च्यापेको अवस्थामा क्रेनको सहायताले उद्दार गरेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
दुवै जना मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल चितवन लगेको उनले बताए । ट्रकलाई सडकबाट हटाइएको प्रहरीले जनाएको छ ।
