कावासोतीमा नेटवर्किङ्गको नाममा ठगि धन्दा, ५ जना पक्राउ




रामकुमार श्रेष्ठ – 
नवलपुर । नवलपुरको कावासोतीमा नेटवर्किङ विजनेशको नाममा ठगिधन्दा बढेको पाइएको छ ।

कावासोतीमा रहेको शाखा कार्यालय स्थापना गरी युनिभर्सल इन्टरपेनेर्स प्रा.लि.को नाममा ठगि गरेको पाइएको नवलपुर प्रहरीले जनाएको छ ।




ठगी गर्ने पाँच जना नवलपुरको कावासोतीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।

पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका ८ चोरमारा निवासी २९ बर्षीय समर्पित पाण्डे, कावासोती ८ निवासी ३२ बर्षीय जनक देवकोटा, बौदीकाली १ घर भई कावासोती ३ मध्यविन्दुटोल निवासी २५ बर्षीय सन्तोष कार्की, कावासोती १ रिठ्ठेपानी निवासी २४ बर्षीया मनिसा थापा मगर र कावासोती ५ निवासी २३ बर्षीय हरिप्रसाद भुर्तेल रहेका छन् ।

कावासाती नगरपालिका–८ मा रहेको युनिभर्सल इन्टरपेनेर्स प्रा.लि. शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले विभिन्न व्यक्तिहरुलाई नेटवर्किङ विजनेश मार्फत प्रशस्त पैसा कमाउन सकिन्छ भन्ने झुटो प्रलोभन देखाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले विगत २ बर्षदेखि कावासोती ८ मा कार्यालय नै स्थापना गरेर बसेको पाइएको उनले बताए । उनका अनुसार अहिलेसम्म ४ जनाले मात्र लिखित जाहेरी दिए पनि ठगिएका ८ जना प्रहरीको सम्पर्कमा आएकाक छन् भने नवलपुर जिल्ला भित्रकै मात्रै २५ जना भन्दा बढीलाई ठगि गरेको पाइएको छ ।

प्रहरीका अनुसार उनीहरुले १८ बर्ष मुनिका किशोर किशोरी समूहलाई बढी प्रलोभनमा पार्ने गरेको पाइएको छ । ति मध्ये किशोरी बढी रहेका छन् । घिमिरेका अनुसार उनीहरुले अनलाइन विजनेश गर्न सिकाउने बाहानामा शुरुमा थोरै थोरै रकम लिने र पछि लगानी गर्नु पर्छ भन्दै धेरै धेरै रकम उठाउने गरेको पाइएको छ ।

एक जनासँग १ लाख ८० हजार सम्म ठगि गरेको पाइएको प्रहरीले जनाएको छ । अहिलेसम्म जाहेरी आएका ४ जनालाई ४ लाख बढी ठगेको पाइएको उनले बताए ।

उनीहरुले काम पनि लगाइदिने भनि रकम लिएर पनि काम नलगाइदिने तथा विभिन्न कम्पनीबाट उत्पादन गरिएका सामानहरु खरिदको रकम हाल्न लगाउने, सामान नदिने र रकम फिर्ता माग्दा समेत फिर्ता नदिएको भनि पिडितहरुले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ हो ।

उनीहरुलाई अनुसन्धानको लागि पक्राउ गरी ठगी सम्बन्धी कसूरमा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।
उनीहरुले शुरु शुरुमा सामाजिक सञ्जाल मार्फत आकर्षक आम्दानीको बाहानामा किशोर किशोरीहरुलाई सम्पर्कमा ल्याउने र विस्तारै ठूलो रकम ठग्ने गरेको पाइएको हो ।



सम्बन्धित
Loading...