नवलपरासीमा कैदीबन्दी खोजी कार्य तिब्र, नवलपुरमा १३ र पश्चिम नवलपरासीमा ४५ जना पक्राउ
कुसुम परियार –
नवलपरासी । देशका विभिन्न स्थानबाट र पश्चिम नवलपरासीबाट भागेका गरी ५८ जना कैदी बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएर काराकार चलान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले १३ जना पुरुष र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी ४५ जना कैदी बन्दीलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार चितवन, बाँके, नक्खु कारागारका साथै केन्द्रिय कारागार लगायतका क्षेत्रबाट फरार भएका १३ जनालाई अहिलेसम्म नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका १३ जनालाई नै सम्बन्धित कारागारमा पठाइएको र अझै खोजी कार्य जारी राखेको उनले बताए । प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार चितवनबाट फरार भएका ३ जना, बाँके जिल्ला कारागारबाट फरार भएका ३ जना, नक्खु जेलबाट फरार भएका १ जना, केन्द्रिय कारागारबाट फरार भएका १ जना लगायतलाई नियन्त्रणमा लिइएको हो ।
त्यसैगरी बुधबार विहान पश्चिम नवलपरासीको जिल्ला कारागारबाट फरार भएका मध्ये अहिलेसम्म ४५ जनालाई नियन्त्रणमा लिइएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ । ४५ जना मध्ये ४ जना महिला रहेका छन् ।
पश्चिम नवलपरासीको जिल्ला कारागारमा रहेका ३७५ जना कैदी बन्दीहरु मध्ये ३ सय ४६ जना कैदीबन्दी कारागारको गेट फोरेर भागेका थिए भने बाँकी कैदीबन्दीहरु कारागारमै रहेका थिए ।
यसैबीच पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक सूचना जारी गरी पश्चिम नवलपरासीको कारागारबाट फरार भएका कैदी बन्दीहरुलाई तुरुन्त फिर्ता हुन आग्रह गरेका छन् । अन्यथा कानुन बमोजिम हुने जनाइएको छ ।
यता पश्चिम नवलपरासी प्रहरीले पनि फरार कैदीबन्दीहरुको खोजी कार्य तिब्र पारेको जनाएको छ ।