हिजोसाँझदेखि दाउन्नेको सडक अवरुद्ध
नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्ने खण्डमा विगत ३ दिनदेखि यातायात सञ्चालन अनियमित भएको छ । बुधबारदेखि दाउन्ने सडक खण्डमा यातायात सञ्चालन अनियमित भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार लगातारको बर्खाका कारण दाउन्नेको खुर्सानी खोलामा हिजो साँझदेखि सडक अवरुद्ध भएको छ । पूर्वबाट पश्चिम जाने सवारी साधनहरु केही सञ्चालनमा आए पनि अहिले पश्चिमबाट पूर्व आउने सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन् । हिलो र चिप्लोका कारण यातायात सञ्चालनमा कठिनाई भएको छ ।
बुधबार पनि दाउन्नेको विश्वकर्मा बाबा मन्दिर नजिकै सडक अवरुद्ध भएको थियो ।
विहीबार साँझदेखि अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेपनि लागातार पानी परेको कारण सम्भव नभएको प्रहरीले जनाएको छ । अहिले दाउन्नेको पूर्वपश्चिम दुवैतर्फ ७ किलोमिटर बढी सवारी साधनको लामो लाइन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका कार्यालय प्रमुख जनकराज बन्जाराले जनाकारी दिए ।
सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीको सडक निर्माणमा ढिला सुस्ती र लापरवाहीका कारण यस पटकको दशैमा दाउन्नेमा यात्रुहरुलाई सास्ती हुने भएको छ । अहिलेपनि चाडपर्व मान्न घर फर्केका यात्रुहरुले दाउन्नेमा दुःख पाएको गुनासो गरेका छन् ।