दाउन्ने सडक यात्रुलाई सास्ती, दशैमा दाउन्नेका यात्रा सकस पूर्ण हुने




रामकुमार श्रेष्ठ  – 
नवलपरासी । नेपालीहरुको महान पर्व दशैं नेपालीको घर आँगनमै आइपुग्न थालेको छ । रोजगारको शिलशिलामा वा अध्ययनका लागि काठमाडौं लगायतका सहरहरुमा बस्दै र अध्ययन गर्दै आएकाहरु घर फर्कन शुरु गरिसकेका छन् तर ति यात्रुहरुलाई दाउन्नेको सडकले भने पछिल्लो ३ दिन यता निक्कै सास्ती दिएको छ ।

बुधबारदेखि नवलपरासीको दाउन्ने सडक खण्डमा सडक नियमित हुन सकेको छैन । बुधबार विहानैदेखि दाउन्नेको विश्वकर्मा बाबा मन्दिर नजिकै सडक अवरुद्ध हुन पुगेको थियो भने विहीबार साँझदेखि दाउन्नेको खुर्सानी खोला र शुक्रबार दिउँसो ६५ मोड नजिकै पहिरो खस्दा यो सडक अवरुद्ध हुन पुग्यो । ३ दिनमा ३ पटक सडक पूर्ण रुपमा अवरुद्ध भयो भने शुक्रबार साँझसम्म दाउन्ने सडक खण्डमा बर्दघाटदेखि दुम्किबाससम्म १४ किलोमिटर भन्दा लामो सवारी साधनको जाम रहेको छ ।




जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनक बन्जाराका अनुसार दाउन्नेमा सडक बेलाबेलामा अवरुद्ध हुँदा यात्रुहरुले निक्कै सास्ती वेहोर्नु परेको छ ।

दाउन्नेको १४ किलोमिटर सडक पार गर्न सवारी साधनहरुलाई १० देखि १६ घण्टासम्म लाग्ने गरेको छ । साना तथा ठूला सवारी साधन, लरी, ट्रक, यात्रुवाहक बस, शव वाहनदेखि एम्बुलेन्ससम्म जाममा परेका छन् ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले यस अघि गत साता बुटवल नारायणगढ सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट इन्जिनियरिङ्ग कम्पनी र सडक आयोजनाका कर्मचारीहरुलाई दशैं अगाडि दाउन्नेको सडक पिच वा ढलानको काम सक्न निर्देशन दिएको भए पनि अहिले दाउन्ने सडक खण्डमा कुनै काम भएको देखिदैन ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले आफूले दिएको निर्देशन र उनीहरुको प्रतिबद्धता अनुसार काम नगरेको बताए । उनले भने – काम गरेको देखिदैन । दाउन्नेमा अहिलेदेखि नै सास्ती हुन थाल्यो दशैंमा यात्रु तथा सवारी साधनको चाप झन बढ्छ । भोलि वैठक बसेर हामी यस विषयमा थप छलफल गर्दैछौं ।

दाउन्नेको १४ किलोमिटर सडक खण्ड मध्ये बर्दघाट (पश्चिम नवलपरासी) खण्डमा ३ किलो मिटर सडक कालो पत्रे भएको छ । त्यसका अवला अहिले ३ किलोमिटर थप ढलानको काम सकिएर ढलानबाट सवारी साधन आवत जावत गर्न थालेको छ । त्यसका अवला अन्य २ किलोमिटर सडक एकतर्फी ढलान सकिएको सडक आयोजनाका प्रमुख इन्जिनियर चुडाबहादुर ढकालले जानकारी दिए । उनका अनुसार दशैं अगाडि दाउन्ने सडक खण्डमा अन्य भौतिक संरचना निर्माण हुने सम्भावना छैन । उनले भने – यस्तै पानी परे कसरी यात्रा सहज गराउने र पानी रोकिए दशैंमा यात्रुहरुलाई यात्रा सहज गराउन कसरी सकिन्छ भन्ने बाहेक अरु विकल्प छैन ।

यात्रुहरुलाई सकस

 

सुशिल पाण्डे

बुटवलका सुशिल पाण्डे काठमाडौंमा कलेज विदा भएपछि शुक्रबार घर फर्किए । बुटवल घर भएका शुशिल पाण्डे करिब २ बजेतिर दुम्किबास आइपुगेका हुन् । उनीसँगै उनका साथीहरु पनि बसमा सँगै यात्रारत रहेका छन् । उनी साँझ ६ बजेसम्म दुम्किबासमै जाममा परेका छन् । बाँकी १४ किलोमिटर सडक पार गर्न कति घण्टा लाग्ने हुने कुनै ठेगान छैन ।
उनी मात्रै होइन काठमाडौंबाट बुटवल, अर्घाखाँची, पाल्पा, दाङ, भैरहवा लगायतका क्षेत्रका विद्यार्थीहरु दाउन्नेका जाममा रोकिएका प्रशस्तै भेटिएका थिए ।

 

कृष्णप्रसाद तिवारी

भैरहवाबाट भरतपुर विरामी लिएर जाँदै गरेका ग २ च ३३८ नम्बरका एम्बुलेन्स चालक कृष्णप्रसाद तिवारी विहान ८ बजे बर्दघाटको उकालो उक्लेका थिए । उनी दाउन्नेका जाम छिचोल्दै दुम्किबास आइपुग्दा झण्डै साँझको ५ बजिसकेको थियो । उनका अनुसार एम्बुलेन्सलाई पनि दाउन्नेको बाटो पार गर्न ८ देखि ९ घण्टा लागेको थियो । उक्त एम्बुलेन्सको पछि पछि एउटा शव वाहन पनि थियो उक्त शव वाहनलाई पनि दाउन्ने छिचाल्ने ८ घण्टा लागेको थियो ।

 

सन्तोष यादव

भारतको हैदरावादबाट काठमाडौं समान छाड्न आएका लरी चालक सन्तोष यादव विहीबार साँझ ८ बजेदेखि दाउन्नेका जाममा फसेका थिए । उनी आज साँझ ४ बजे मात्र दुम्किबास आइपुगेका थिए । उनका अनुसार दाउन्नेका उकालो कटाउन उक्त लरीलाई करिब १६ घण्टा लागेको थियो ।

 

 

बर्दघाटदेखि दुम्किबाससम्म करिब १४ किलोमिटर सडक खण्डमा पुरै सवारी साधनको लामो लाइन रहेको छ । साउन ८ गते म्याद सकिएको दाउन्ने सडक खण्डको म्याद थप गर्दाको समय सम्म जम्मा ७० प्रतिशतको हाराहारीमा भौतिक प्रगति भएको थियो तर यो पछिल्लो २ महिनामा २ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । सडक आयोजनाका प्रमुख इन्जिनिर ढकालले अहिलेसम्म नारायणगढ बुटवल सडक खण्डमा ७२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।



सम्बन्धित
Loading...