सिमा क्षेत्रमा ड्रोन आतंक बढेपछि प्रशासनले लगायो रोक




रामकुमार श्रेष्ठ –
नवलपरासी । रातको समयमा नेपाल भारत सीमा क्षेत्रमा ड्रोन आतंकले स्थानीय त्रसित भएपछि पश्चिम नवलपरासीमा जथाभावी ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले एक सूचना जारी गर्दै अनुमति विना ड्रोन उडाउन प्रतिबन्ध लगाएको हो ।




पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीद्वारा जारी सूचनामा दशैं तिहार जस्ता चाडपर्व लक्षित गरी ड्रोन उडाउने गरेको पाइने गरेको भन्दै त्यस्ता ड्रोनहरु अनुमति लिएर मात्र उडाउन र अनुमति नलिई उडाएको पाइए कारवाही गरिने चेतावनी दिइएको छ ।

पश्चिम नवलपरासी सहित नेपाल भारत सीमा क्षेत्रमा पछिल्लो समय ड्रोन आतंक बढेका भिडियोहरु सार्वजनिक भईरहेको बेला यस्तो सूचना प्रशासनले निकालेको हो ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने सीमा क्षेत्रमा ड्रोन आतंक भएका जानकारी नभएको बताए । उनले भने – चाडपर्वमा ड्रोन बढी उडाउने गर्दछन् । कानुनी प्रक्रिया पुरा नगरी चलाइएका ड्रोनहरु कानुनी प्रक्रिया पुरा गरी चलाउन र अनुमति लिएर मात्र चलाउनु भन्ने उद्देश्यले सूचना प्रकाशन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार अनुमति नलिई ड्रोन उडाएको वा प्रयोग गरेको पाइए जफत गरी कारवाही प्रक्रिया अडाडि बढाइने छ ।



सम्बन्धित
Loading...