नवलपुरमा गोली प्रहार गरी चितुवा मारे
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा गोली प्रहार गरी चितुवा मारेको पाइएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिका ६ मा रहेको नवदुर्गा सामदायिक वनमा बासको झ्याङ निर अन्दाजी ४ बर्षीया पोथी चितुवा मृत भेटिएको हो ।
डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत भेषबहादुर महतोका अनुसार चितुवाको टाउको, घाँटी र पिडुलामा चोट लागेको छ ।
बुधबार विहान जंगलमा च्याउ खोज्न जानेले देखेपछि प्रहरी र वनका कर्मचारीलाई खबर गरेका थिए । उक्त चितुवा मुचुल्का तयार पारी पोष्टमार्टमका लागि डिभिजन वन कार्यालय नवलपुर ल्याइएको छ ।
चितुवालाई भरुवा बन्दुक प्रहार गरी मारेको हुन सक्ने वन अधिकृत महतोले बताए । तथापि पोष्टमार्टम रिपोर्ट पछि थप विवरण प्राप्त हुने जनाइएको छ ।
नवलपुरमा गत बर्ष पनि ३ वटा बाघ मृत भेटिएका थिए । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली आएर पोष्टमार्टम गर्ने जनाइएको छ ।