विगत ४ दिनदेखि दाउन्नेको सडकमा समस्या




रामकुमार श्रेष्ठ –  

नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा विगत ४ दिनदेखि यातायात सञ्चालनमा समस्या भएको छ ।




दाउन्ने सडकमा लगातारको पानीले बाटो हिलो र चिप्लो भएपछि सवारी साधन सञ्चालनमा समस्या भएको हो । तिहार मनाएर काठमाडौं फर्कने यात्रुहरुलाई दाउन्नेको बाटोले सास्ती दिएको छ ।

दुम्किबासका स्थानीय बासिन्दा अमृत भट्टका अनुसार दाउन्नेको उकालोमा सवारी साधन उक्लन समस्या भएको छ । बाटो हिलो र चिप्लोले गर्दा हिलोमा गाडी फस्ने, उकालोमा उक्लनै नसक्ने, चिप्लने लगायतका समस्याहरु रहेका छन् । जसले गर्दा पटक पटक सडक अवरुद्ध भएको छ । प्रहरीको तथ्यांक अनुसार यो चार दिनमा २ पटक पूर्ण रुपमा सवारी साधन अवरुद्ध भएको छ भने ४ पटक भन्दा बढी पटक एकतर्फी सवारी साधन अवरुद्ध भएको छ ।

शनिबार मात्रै घिउ खोलामा साँझ माटो बोकेको ट्रक फस्दा करिब ३ घण्टा सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । त्यसैगरी दाउन्ने सडक खण्डमा अहिले ५ वटा सवारी साधन विग्रिएर बसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । जसले गर्दा अहिले दाउन्ने सडक ठाउँठाउँमा एकतर्फी रहेको छ ।

विनयी त्रिवेणी गाउँपालिका २ त्रिसठ्ठी मोडमा बागमती प्रदेश ०३–००१ ख ०९५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रक स्टार्ट नभएर रोकिएको छ भने सोही स्थान नजिकै म १ ख ७४४ नम्बरको खाली ट्रक गियर विग्रिएर समस्या आएको छ ।
त्यसैगरी काठमाण्डौबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०७७६ नम्बरको बस पनि सोही स्थानमा विग्रिएर बसेको छ ।
यता विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरे चेकपोष्ट नजिकै ना ७ ख ६६६४ नम्बरको खाली ट्रक र ना ७ ख ६०५३ नम्बर खाली ट्रक स्टार्ट नभएर रोकिएको छ ।

सडकमा अहिले हजारौंको संख्यामा सवारी साधनहरु जाममा लागेको छ । दाउन्ने बजारदेखि दुम्किबाससम्म करिब ७ किलोमिटर खडक खण्डमा सवारी साधनको लामो लाइन लागेको स्थानीयले बताएका छन् ।
यहाँ दैनिक जसो हिलो र चिप्लोले सवारी साधन विग्रने तथा फस्ने गरेको छ । जसले गर्दा यात्रुहरु घण्टौं जाममा पर्ने गरेका छन् ।

सडक विभागले सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीलाई दशैं अगाडि नै यात्रा सहज गराउन निर्देशन दिएको भए पनि दाउन्नेमा १४ किलोमिटर सडक खण्ड मध्य पश्चिम खण्डको ३ किलोमिटर मात्र पूर्ण रुपमा कालो पत्रे भएको छ भने केही ठाउँमा ठलानको काम सकिएको छ । बाँकी अधिकांश क्षेत्र कच्ची र खाल्टाखुल्टी रहेको छ ।

दाउन्नेको ४ ठाउँमा कल्भर्ट निर्माणको काम नसकिएकोले सडक एकतर्फी रहेको छ भने ढलानको काम भईरहेका ठाउँहरुमा पनि सडक एकतर्फी रहेका छन् । जसले गर्दा दाउन्नेमा सामान्य पानी पर्ना साथ यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ ।



सम्बन्धित
Loading...