सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको देवचुली नगरपालिकाका भूमिहिन सुकुम्बासीहरुले देवचुली नगरपालिका भित्र रहेका ५ वटा सामुदायिक वनमा तालाबन्दी गरिदिएका छन् ।
आफूहरुले बर्षौदेखि जोतभोग गर्दै आएको जग्गा सामुदायिक वन भित्र परेको भन्दै लालपूर्जा नपाएपछि उनीहरुले सामुदायिक वन नै खारेजीको माग गर्दै सामुदायिक वन कार्यालयमा तालाबन्दी गरिदिएको स्थानीय बासिन्दा चित्रबहादुर लुंगेली मगरले जानकारी दिए ।
उनीहरुले शुक्रबार देवचुली नगरपालिका भित्र रहेको अमर ज्योति सामुदायिक वन, धुसेरी सामुदायिक वन, चौतारी सामुदायिक वन, बरटाँडी सामुदायिक वन र अम्मर सामुदायिक वनमा तालाबन्दी गरिदिएका हुन् ।
सुकुम्बासी संघर्ष समितिका सल्लाहाकार संयोजक भिम चन्द्र गुरुङ, उपाध्यक्ष दीपक विक, उपाध्यक्ष तिलबिर सारु मगर, सचिव आशिष तामाङ लगायतको नेतृत्वमा रहेको टोलीले सामुदायिक वनमा तालाबन्दी गरिदिएका हुन् । देवचुली नगरपालिका भित्र वन नजिकै रहेका बासिन्दाहरुले सामुदायिक वनको अवरोधका कारण जग्गा धनी लालपूर्जा पाउन सकेका छैनन् ।
देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले सामुदायिक वनले वन दर्ता गर्दा वस्ती बसेको गाउँलाई पनि सामुदायिक वन भित्र राखेको कारण यस्तो समस्या आएको बताइन् । उनका अनुसार नगरपालिकाले सबै प्रक्रिया पुरा गरेको तर वनका कारण जग्गा धनी लालपूर्जा वितरण कार्य रोकिएको छ ।
यहाँका ५ सय भन्दा बढी घर भूमिहिन सुकुम्बासीहरुको बस्ती सामुदायिक वन भित्र परेको छ ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरि न्यौपानेले वन ऐनका कारण जंगल छेउ बस्ती रहेका सुकुम्बासी बस्तीमा लालपूर्जा वितरण गर्न नसकिएको जानकारी दिए ।
