नवलपुरको अरुणखोलामा एक जना महिलाको शव फेला, हत्या आशंका

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको अरुणखोलामा एक जना महिलाको शव शंकास्पद अवस्थामा फेला परेको छ । शरिरमा चोटपटक देखिएको महिलाको शव बोरा भित्र पोको पारी फालिएको अवस्थामा भेटिएको हो ।
मध्यविन्दु १२ बाहुनी कुना स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्ड मुनी कुसुन्डे सिचाईको नहरमा महिलाको शव फेला परेको हो । शव मध्यविन्दु १० निवासी ३५ बर्षीया रिता मुसहरको हो ।
उनको शरिरमा चोटपटक देखिएकोले प्रहरीले हत्या भएको आशंका अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
नहरमा कृषि सामग्री कम्पनी लिमिटेड लेखिएको सेतो बेरा भित्र महिलाको शव भेटिएको हो । उनको खुट्टा मात्र देखिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटना स्थलमा प्रहरी उपरीक्षक युवराज खड्काको नेतृत्वमा प्रहरी टोली पुगेर घटनाको अनुसन्धान गरिरहेको छ । घटना स्थलको मुचुल्का तयार पार्ने काम भईरहेको प्रहरीले जनाएको छ ।