नवलपुरमा १७४२ जना निर्वाचन प्रहरी छनौट, आइतबारबाट तालिम शुरु

नवलपुर । नवलपुर जिल्लामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १७४२ जना निर्वाचन प्रहरी छनौट भएका छन् ।
यहाँ दुई पटक भएको छनौट प्रक्रियाबाट उक्त संख्यामा निर्वाचन प्रहरी छनौट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरबाट आवेदन दिएर उत्तीर्ण भएका १ हजार ५ सय ४३ जना र सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीमा आवेदन दिएर उत्तिर्ण भएका १ सय ९९ जना गरी १ हजार ७ सय ४२ जनालाई आइतबारबाट तालिम दिन शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । तालिमको आइतबार औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।
सशस्त्र प्रहरीबाट छनौट भएकाहरुको सशस्त्र प्रहरी बल ३१ नम्बर गुल्म भेडाबारीमा तालिम शुरु भएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट छनौट भएका १ हजार ५ सय ४३ जनाको जिल्लाका ५ स्थानमा प्रहरी निरीक्षकको नेतृत्वमा तालिम प्रदान गरिने खड्काले जानकारी दिए ।
खड्काका अनुसार तालिम १० दिनसम्म चल्ने छ । १० दिनको तालिम पछि उनीहरु निर्वाचन प्रहरीको रुपमा निर्वाचनको सुरक्षाको लागि खटिने छ ।
नवलपुर जिल्लाका लागि आवश्यक पर्ने निर्वाचन प्रहरी दुई पटक आवेदन खुलाई छनौट गरिएको थियो ।
त्यसैगरी नवलपुर जिल्लाबाट वैकल्पिकमा परेकाहरु मध्ये २ सय ९० जनालाई स्याङजा जिल्लामा पठाइएको छ । स्याङ्जा जिल्लामा निर्वाचन प्रहरी कम भएपछि त्यहाँ पठाइएको खड्काले जानकारी दिए ।
१ सय १४ वटा निर्वाचन स्थल रहेको नवलपुर जिल्लामा निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी ४ वटा सुरक्षा घेरामा सुरक्षाकर्मी खटाइने छ । जसका लागि तयारी अन्तिम चरणमा पुगेको नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए ।