टी–ट्वान्टी विश्वकपको दशौं संस्करण आजदेखि, नेपाल आइतबार इंग्ल्यान्डसँग खेल्दै




मुम्बई । आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी-२० विश्वकपको १०औं संस्करण सुरु हुँदैछ ।

पहिलो दिन भारत र श्रीलंकामा गरेर कुल ३ खेल हुनेछन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन् । खेल कोलम्बोमा विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ ।




यस्तै दोस्रो खेलमा नेपाल रहेकै समूह ‘सी’ मा रहेका स्कटल्यान्ड र वेस्ट इन्डिज खेल्नेछन् । खेल सवा ३ बजेद्खि कोलकातामा सुरु हुनेछ ।

यस्तै आजको तेस्रो खेलमा भने सबैभन्दा बढी नजर रहनेछ । समूह ‘ए’ कै खेलमा आयोजक र भारत र अमेरिकाबीचको खेल साँझ सवा ७ बजेदेखि मुम्बईको वाङ्खडे स्टेडियममा सुरु हुनेछ । खेलअघि भव्य उद्घाटन समारोह पनि हुने तय छ ।

उद्घाटन समारोहमा भारतीय कलाकारहरु ऋषभ शर्मा, शिवमणि, बादशाह र नोरा फतेहीले प्रस्तुति दिनेछन् । यी चार जनाको प्रस्तुतिले रंगशालालाई सांगीतिक माहोलले गुञ्जयमान बनाइने आईसीसीले जनाएको छ । नेपालले भने आफ्नो पहिलो खेल आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।

समूह ‘ए’ मा रहेको भारत सहजै ‘सुपर एट’ चरणमा पुग्ने अनुमान गरिएको छ । यस समूहमा भारतलाई पाकिस्तान र पछिल्लो समय तीव्र प्रगति गरिरहेको अमेरिका चुनौतीका रूपमा देखिएका छन् । शनिबार नै मुम्बईमा भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई पटकका विश्वकप विजेता अस्ट्रेलिया र इंग्ल्यान्ड पनि उपाधिका बलिया दाबेदार मानिएका छन् । तर मिचेल मार्सको कप्तानीमा रहेको अस्ट्रेलियालाई प्रतियोगिताअघि नै झट्का लागेको छ । टोलीका प्रमुख तीव्र गतिका बलर प्याट कमिन्स र जोश हेजलवुड चोटका कारण बाहिरिएका छन् ।

समूह ‘सी’ मा इंग्ल्यान्डको कप्तानी ह्यारी ब्रुक्सले गर्दैछन् । जोस बटलरपछि ब्रुक्सको नेतृत्वमा इंग्ल्यान्डले पहिलो ठूलो प्रतियोगिता खेल्न लागेको हो । यस समूहमा नेपाल, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् । दुई पटकको च्याम्पियन वेस्ट इन्डिजको उपस्थितिले समूह ‘सी’ अझ रोचक बन्ने देखिन्छ ।

अहिलेसम्म विश्वकप उपाधि जित्न नसकेको दक्षिण अफ्रिका यसपटक इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रँदैछ । कप्तान एडेन मार्क्रमले प्रतियोगितामा कुनै पनि टोलीले कसैलाई पनि हराउन सक्ने भन्दै सतर्क खेल आवश्यक रहेको बताएका छन् । दक्षिण अफ्रिका रहेको समूह ‘डी’ मा न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई रहेका छन् ।

प्रतियोगिताको ढाँचाअनुसार चार समूहबाट शीर्ष दुई–दुई टोली ‘सुपर एट’ चरणमा प्रवेश गर्नेछन् । त्यसपछि आठ टोलीलाई पुनः दुई समूहमा विभाजन गरिनेछ र त्यहाँबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।



सम्बन्धित
Loading...