कावासोती नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई सम्मान




रामकुमार श्रेष्ठ –



कावासोती । नवलपुरको कावासोती नगरपालिकाको शिक्षा शाखाले यस बर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई मंगलबार सम्मान गरेको छ ।
नगरपालिकामा सम्मानको कार्यक्रम आयोजना गरी पछिल्लो परीक्षामा ए प्लस ल्याउने विद्यार्थीहरु र विषय शिक्षकहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसाल, उपप्रमुख फूलकुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत महेष पाण्डेले सम्मान गरेका थिए ।
कार्यक्रममा यस बर्षको एसईई परीक्षामा ४ जिपीए ल्याउने ज्ञानुदय मावि कावासोतीका विद्यार्थी आयुष ढकाललाई २५ हजार नगद सहित सम्मान गरिएको थियो ।

त्यसैगरी कक्षा १२ को परीक्षामा ३.८४ जिपीए ल्याए नगर प्रथम हुने कुमारवर्ती क्याम्पसका विद्यार्थी आकृति श्रेष्ठ लगायतलाई नगद ३÷३ हजार रुपैयाँ पुरस्कार सहित सम्मान गरिएको कावासोती नगरपालिकाका स्रोत शिक्षक तिर्थ कंडेलले जानकारी दिए ।
त्यसैगरी कार्यक्रममा कक्षा ५ को परीक्षामा नगरप्रथम हुने ज्ञानोदय माविका समृद्धि रिजाल, नगर द्वितीय हुने दुर्गा आधारभूत विद्यालयका आविस्कार न्यौपाने, नगर तृतीय हुने शिव माविका नविन न्यौपाने, चौथो हुने शिद्धार्थ आवासीय माविका अम्रिका गैरे, मान्यता लामिछानेलाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी कक्षा ८ को परीक्षामा ४ जिपिए ल्याउने शिव माविका एन्जल रेग्मी, शिद्धार्थ आवासीय माविका खुसी बस्याल, पूजा शर्मा चापागाई, त्रिभुवन बालमाविका अनिस लामिछाने, वाइज भिजन कावासोती १२ का ऋतु शर्मालाई पनि सम्मान गरिएको थियो ।
कक्षा ५, ८, एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरु, उत्कृष्ट नतिजा दिने विषयगत शिक्षकहरु, नगरपालिकाले गरेको मूल्यांकनमा उत्कृष्ट हुने विद्यालयहरुलाई पनि सम्मान गरिएको थियो ।


सम्बन्धित
Loading...