पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध




रामकुमार श्रेष्ठ – 
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ बुटवल सडक खण्डको दाउन्नेमा लगातारको पानीले सडक हिलाम्य र चिप्लो भए पछि रातिका लागि ठूला तथा मालबाहक सवारी साधन प्रतिबन्ध लगाइएको छ ।

विगत ३ दिनदेखि दाउन्ने सडक खण्ड एकतर्फी रहेको छ । १ साता अघि परेको पानीले पनि दुई दिनसम्म यहाँको सडक एकतर्फी भएको थियो ।




सडक आयोजनाले शुक्रबार एक सूचना जारी गरी दाउन्नेमा लगातारको पानीले सडक हिलाम्य र चिप्लो हुँदा सवारी साधन आवत जावतमा समस्या भएकोले राति ठूला तथा मालवाहक सवारी साधन चैत्र ६ गतेदेखि ८ गते सम्मलाई प्रतिबन्ध लगाइएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार शनिबार दिनभर सडक एकतर्फी भएको थियो । उनले भने – साना तथा ठूला सवारी साधनहरुले अप्ठेरो बाटोमा पनि जबरजस्ती ओभरट्याक गर्न खोज्दा सडक एकतर्फी हुने गरेको छ ।

शुक्रबार दिनभर र राति अबेरसम्म बाटो हिलो र चिप्लो हुँदा दाउन्नेमा ठूला तथा भारी सवारी साधन उकालोमा बाटो चिप्लो भएर उक्लन सकेको छैन । प्रहरी उपरीक्षक खड्काका अनुसार दाउन्नेमा थप प्रहरी र ट्राफिक प्रहरी यातायात व्यवस्थापनका लागि खटाइएको छ ।

दाउन्नेको १४ किलोमिटर सडक खण्ड मध्ये अझै ४ किलोमिटर सडक कच्ची रहेको छ । सडक विभागका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार रातिको समय ठूला तथा अत्याधिक भार बोक्ने मालबाहक सवारी साधन हिलोमा फसे रातभर सवारी साधन जान हुन सक्ने भएकोले तत्कालका लागि रातिको समय ठूला तथा मालबाहक सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको हो । उनले भने – यो ३ दिनका लागि हो पानी नरोकिए लम्बिन पनि सक्छ ।


१४ किलोमिटर सडक खण्ड मध्ये पश्चिममा २७ सय मिटर र पूर्वीमा ३ सय मिटर गरी ३ किलोमिटर कालो पत्रे गरिएको छ भने बाँकी ११ किलोमिटर सडक खण्ड ढलान हुँदै छ । ति मध्ये ४ किलोमिटर सडक खण्ड अझै ढलान हुन बाँकी रहेको सडक विभागका प्रमुख इन्जिनियर चुडाराज ढकालले जानकारी दिए ।

४ किलोमिटर मध्ये पूर्वी खण्डमा १३ सय ५० मिटर र पश्चिम खण्डमा २६ सय ५० मिटर गरी ४ किलोमिटर ढालनका काम बाँकी रहेको छ ।

पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड अन्तरगत दाउन्नेमा ३ लेनको सडक बन्दै छ । यहाँको भौगोलिक जटिलताका कारण सडक टिकाइ राख्न १५ इन्च मोटाइ सडक ढलान गरिदै छ । ढकालले भने ३ इन्च डिपिसी र १२ इन्च ढलान गरेर सडक बलियो बनाउने काम भएको छ ।

दाउन्नेमा बेलाबेलामा पहिरो समेत गईरहने भएकोले पहिरो जाँदा पनि सडकको पक्की भाग नविग्रियोस भनेर ढलान गरिएको हो ।

ढकालका अनुसार ४ किलोमिटर ढलानको काम सक्न अझै कम्तिमा २ महिना लाग्ने छ । उनले भने – यो बर्खा अगाडि दाउन्नेमा ढलानको काम सकिने छ । अहिले दैनिक ५० मिटरको दरले ढलानको काम भईरहेको छ ।

 



सम्बन्धित
Loading...