गजल
- सरोज उजाड –
सानो हिँडेको छ , ठूलो हिँडेको छ
सडक उहीँ छ, मात्र धूलो हिँडेको छ
भगवान चुपचाप बसेको छ मन्दिरमा
कोही चोखो कोही बिटुलो हिँडेको छ
गणतन्त्रको प्रत्याभूति दिलायौ र त
गालाभरि आँसुको कुलो हिँडेको छ
प्रेमिका जस्तै भयो गरिबका लागि
घरमा बस्नै मान्दैन, चूलो हिँडेको छ
भ्रष्टाचारको खाडल पुर्ने वाचा नदेऊ
तिम्रै घर छेडी देशभर दूलो हिँडेको छ
गजल मञ्च नवलपुर
रचना : २०७६\०९\२१गते