१८८ यात्रु सवार विमान समुद्रमा खस्यो

0




एजेन्सी । इन्डोनेसियाको लायन एयरलाइन्सको फ्लाइट बोइङ ७३७ राजधानी जकार्ताबाट उडान भरेको केहीसमयमा नै समुद्रमा दुर्घटना भएको हो । फ्लाइट जेटी–६१० इन्डोनेसियाको राजधानी जकार्ताबाट पाङ्काल जाँदै गर्दा दुर्घटनामा परेको हो ।

विमान उडान भरेको केही मिनेटपछि नै समुद्रमाथिबाट जाँदै गर्दा सम्पर्कविहीन भएको थियो । सो विमानमा एक सय ८८ जना रहेका थिए । जसमध्ये १७८ जना वयस्क, एक शिशु, दुई बालबालिका, दुई पाइलट तथा पाँच चालकदलका सहयोगी सदस्य रहेको बताइएको छ ।

यो समाचार तयार पार्दासम्म विमानमा सवार यात्रुको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन । राष्ट्रिय खोज तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफको भनाई उदृत गर्दै समाचार संस्था एएफपीले लेखेको छ, ‘विमान ३० देखि ४० मिटरको गहिराइमा खसेको हो । विमानका भग्नावशेष अझै खोजिरहेका छौं ।’

परिचयपत्र, चालक अनुमतिपत्र लगायत यात्रुका व्यक्तिगत सरसामान पानीमा भेटिएको खोज तथा उद्धार निकायका अधिकारीहरूले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

लायन एयरलायन्सका प्रमुख कार्यकारीले समाचार संस्था रोयटर्सलाई भनेका थिए, ‘हामी अहिले कुनै प्रतिक्रिया दिन सक्दैनौं । हामीले सबै सूचना र तथ्य संकलन गरिरहेका छौं ।’

लायन एयरले जारी गरेको विज्ञप्तिमा पाइलट र को–पाइलट ११ हजार घण्टा उडान गरेका अनुभवी रहेको जनाइएको छ । चालक दलमा तीनजना प्रशिक्षार्थी र एक जना प्राविधिक पनि थिए ।

सो विमानमा इन्डोनेशियाली अर्थ मन्त्रालयका कम्तीमा २० जना कर्मचारी पनि सवार रहेको बताइएको छ । अर्थ मन्त्रालयका ती कर्मचारीहरु पाङ्काल पिनाङमा कार्यरत रहेको नुफरांसा विरा सक्तीले जानकारी दिएका छन् ।

तान्जुङ प्रिओकस्थित बन्दरगाहका एक अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यले एउटा सानो पानीजहाजले समुद्रमा विमानका भग्नावशेष देखेको जनाएका छन् । सुयादी नाम गरेका ती अधिकारीले घटनास्थलतर्फ थप पानीजहाज पठाएको जानकारी दिएका छन् ।




सम्बन्धित
Loading...