अब मनकामना केवलकारले प्रतिघन्टा ८ सय यात्रु बोक्न सक्ने

0

चितवन, १३ कात्तिक। मनकामना मन्दिरसम्म केवलकार सञ्चालन गरिरहेको मनकामना केवलकार दर्शन प्रालिले क्षमता विस्तार गरेको छ। ३ किलोमिटर दुरीमा सञ्चालित उक्त केवलकारमा डिब्बा थप गरेर पूर्ण क्षमतामा सञ्चालन गरिएको हो।




संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उक्त केवलकारमा थपिएका ३ वटा डिब्बाको उद्घाटन गरेका थिए। सोमबार आयोजित कार्यक्रममा उनले थपिएका ३ डिब्बाको उद्घाटन गरेका हुन्।




विस २०५५ सालमा स्थापना भएको उक्त केवलकारमा अबदेखि यात्रु बोक्ने ३४ डिब्बा पुगेका छन्। यसअिघ ३१ डिब्बामात्र रहेको केवलकारमा सोमबारदेखि ३ वटा थपिएका छन्। थप गरिएका डिब्बासँगै दैनिक १ हजार थप यात्रुलाई सेवा दिन सकिने मनकामना केवलकारका अध्यक्ष राजेशबाबुस श्रेष्ठले जानकारी दिए।

यात्रुको चाप बढेसँगै डिब्बा थप गरिएको उनको भनाइ छ।

दिनमा ८ घण्टा चल्ने केवलकारले अब प्रतिघण्टा ८ सय यात्रुलाई सेवा दिनसक्ने छ। दिनमा अधिकतम ७ हजारसम्म यात्रुलाई सेवा दिन सकिने लक्ष्यसहित क्षमता विस्तार गरिएको श्रेष्ठले जानकारी दिए।

सुरुका वर्ष ३ लाख यात्रुलाई सेवा दिएको केवलकारले पछिल्लो वर्ष औषत वर्षमा १० लाख यात्रुलाई सेवा दिइरहेको छ। जसमा २१ प्रतिशत भारतीय हुने गरेका छन्। केवलकारमा नेपालीलाई ६५० रुपैयाँ भाडा तोकिएको छ, भारतीयलाई ६५० भारू र अन्य सार्क मुलुकका नागरिकलाई ६ अमेरिकी डलर तोकिएको छ। त्यस्तै सार्क बाहिरका नागरिकले भने १० डलर भाडा तिर्नु पर्छ।




सम्बन्धित
Loading...