एक महिनामा ३१ जनाद्धारा सम्बन्ध बिच्छेद

0 72







बागलुङ । नयाँ मुलुकी संहिता लागु भए पछि बागलुङमा सम्बन्ध विच्छेदको माग गर्ने पुरुषको संख्या बढेको छ ।

गत १ भदौबाट नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्लामा पुरुषले पनि अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न थालेका हुन् । विगतमा महिलाको तर्फबाट सम्बन्ध विच्छेदका मुद्दा धेरै आउने गरे पनि चालु आर्थिक वर्षमा पुरुष अगाडी देखिएका छन् ।

जिल्ला अदालत बागलुङका श्रेस्तेदार विश्वप्रसाद रेग्मीका अनुसार एक महिनाको अवधिमा ३१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । जस मध्ये पुरुषको तर्फबाट १६ र महिलाको तर्फबाट १५ जनाले मुद्दा दर्ता गरेका छन् । श्रीमतीका कारणसँगै बस्न नसकिने भन्दै पुरुषले अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने गरेको अधिवक्ता राम शर्माको भनाई छ ।

पहिले नगन्य मात्रामा पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गरे पनि यो वर्ष पुरुषले मुद्दा दर्ता गर्ने क्रम बढेको जिल्ला अदालतका श्रेस्तादार रेग्मीको भनाई छ । वैदेशिक रोजगार, घरेलु हिंसा, अन्तरजातीय विवाह र बालविवाहका कारण जिल्लामा सम्बन्ध विच्छेदका मुद्दाहरू बढेको अधिवक्ता शर्माको अनुभव सुनाए ।

पुरुषले अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दिँदा महिलामाथि अरूसँग शारीरिक सम्बन्ध राखेको, घर सल्लाह बिनाबाहिर डुल्ने गरेको, परिवारप्रति लामो समय बेवास्ता गरेको, घरमा आफूहरूलाई शारीरिक तथा मानसिक यातना दिने गरेको जस्ता आरोपहरू लगाउने गरेको अधिवक्ता शर्माको भनाइ छ ।

नयाँ मुलुकी संहिताले पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दिन पाउने भए पनि सो मुद्दामा एक वर्षसम्म फैसला गर्न नमिल्ने दुवै पक्षका बीचमा मेलमिलापका लागि पहल गर्नुपर्ने व्यवस्था गरेको छ । दर्ता मुद्दा मध्ये १० जना महिला र एक जना पुरुष गरी ११ जनाले मिलापत्र दर्ता गरेका छन् ।

You might also like
Loading...