प्रदुषणले घेरिदै सदरमुकाम परासी बजार

0 317







गोपी ज्ञवाली
नवलपरासी, २० असोज । नवलपरासीको दक्षिणी क्षेत्रमा उद्योगहरुको स्थापनाको क्रममा भएको बृद्धिसंगै जिल्लाको सदरमुकाम परासी बजार क्षेत्र उद्योगको प्रदुषणले घेरिदै गएको छ ।
सदरमुकाम परासी बजार क्षेत्रमा रहेका चिउरा उद्योग एवं पछिल्लो ४÷५ वर्ष देखि सदरमुकामको बाहिरी भागमा स्थापना हुदै गएका विभिन्न प्रकारका उद्योगहरुबाट निस्किने प्रदुषणले नवलपरासीको सदरमुकाम परासी बजार घेरिदै गएको रामग्राम नगरपालिका वार्ड नम्बर ६ पोखरापालीका स्थानीयबासी एवं नागरिक समाज नवलपरासीका अध्यक्ष सम्भु उपाध्यायले बताएका छन् ।
बढदै गएको बजारको आवादी क्षेत्रमा प्रत्यक्ष रुपमा नगरपालिकाको मुख्य चोक महेशपुर चोक एवं पोखरापालीमा रहेका करिब एक दर्जन चिउरा उद्योगहरुको धुलोले दैनिक जीवन समेत प्रभावित हुने गरेको भन्दै बजारका स्थानीयवासीहरुले रामग्राम नगरपालिका कार्यालयमा केही समय पहिला विरोध समेत गरेका थिए ।
यसैगरी परासी बजारको उत्तरतर्फ करिब १ किलोमिटरको दुरीमा रहेको बुटवल सिमेन्ट उद्योगले उद्योग संचालन गर्न प्रयोग गरिने ढुंगे कोईलाको धुवांँले परासीको उत्तर तर्फका बजार क्षेत्रलाई प्रत्यक्ष प्रभावित पार्दै आएको छ । यसैगरी यस उद्योगबाट निस्कने सिमेन्टको धुलोले परासी आसपासका क्षेत्रका मानिसहरुलाई नराम्रो असर पारेको भन्दै स्थानिय राजनैतिक दलका मानिसहरु एवं स्थानियबासीहरुले धेरै पटक विरोध गरेको भए पनि सम्बन्धित निकायले खासै सुनवाई नगरेको नागरिक समाज नवलपरासीका अध्यक्ष उपाध्यायले बताए ।
पछिल्लो मधेश आन्दोलन पछि नवलपरासीको सदररमुकाम परासीको चारै उद्योगहरुको स्थापनाको क्रमले तिब्रता पाएको छ ।
यसरी स्थापना हुने उद्यागहरुमा मदिरा एवं अन्य प्रकारका पेय प्रदार्थका उद्योगहरु, चप्पल उद्योग, चामल उद्योग, फलोर मिल, स्टील उद्योग, रासायनिक मल, प्रांगारिक मल, मोटरसाईकल उत्पादन उद्योग, पेपर उद्योग, काष्ठ उद्योग लगाएतका दर्जनौं उद्योगहरु स्थापनाको क्रममा रहेका भने दर्जनौं उद्योगहरु पहिला देखी नै संचालनमा रहेका छन । यी उद्योगहरुबाट निस्कने विभिन्न प्रकारका हानिकारक धुँवा, फोहर पानी, दुर्गन्ध, आवाज, विभिन्न प्रकारका अनुपयोगि सामान लगाएतले गर्दा परासीको बजार क्षेत्र प्रभावित हुन थालेको छ ।
परासीको बजार एवं आवसा क्षेत्रलाई अहिले प्रत्यक्ष रुपमा बजारको उत्तर तर्फ संचालनमा रहेको बुटवल सिमेन्ट उद्योग, बजार विचमा रहेका चिउरा उद्योगहरु, परासी देखी पुर्व सोमनीमा संचालनमा रहेको डिस्ट्रीलरी उद्योग, पश्चिममा रहेको बहुराष्ट्रिय अरुण बेवरेज उद्योग, विजय डिस्ट्रीलरी लगाएतका उद्योगहरुले सदरमुकाम परासीलाई प्रत्यक्ष रुपमा नकारात्मक असर पार्ने गरेको नागरिक समाजका अध्यक्ष उपाध्यायले बताए ।
डिस्ट्रीलरीबाट आउने दुर्गन्धले कतिकति समयमा सास फेर्न समेत मुस्कील हुने गरेको छ भने सिमेन्ट र चिउरा उद्योगको धुलो धुवाँले घरका छनहरुमा सुकाएका कपडाहरु सेतै हुने गरेको गुनासो परासीका स्थानिय पत्रकार मोहन पौेडेलले बताए ।

You might also like
Loading...