कोरियाली प्रायद्वीपमा छिट्टै तनाव अन्त्य हुने दक्षिण कोरियाको विश्वास

0

२७ असोज । दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इनले कोरियाली प्रायद्वीपमा जारी तनाव छिट्टै समाप्त हुने विश्वास व्यक्त गरेका छन् । बीबीसीसँग कुरा गर्दै राष्ट्रपति मुनले अमेरिका र उत्तर कोरियाले प्रयास गरेमा तनाव समाप्त हुने बताएका हुन् ।




उत्तर र दक्षिण कोरियाबीच १९५३ मा युद्ध सकिएको थियो तर अझैसम्म शान्ति सम्झौता भएको छैन ।

दक्षिण कोरियाका राष्ट्रपति मुनले उत्तर कोरियाली शासक किम जोङ्ग उनलाई ‘सरल’ व्यक्ति भन्दै उनलाई परमाणु हतियार त्याग्नका लागि मनाउने कोशिस भइरहेको बताएका छन् ।




सियोलमा बीबीसी सम्वाददाता लारा बिकरलाई अन्तरवार्ता दिँदै मुनले उत्तर कोरिया र अमेरिकाबीचको कुटनीति वार्तामा समस्या आउन सक्ने आशंका गरेका छन् । तर, यस्तो अवस्थामा यूरोपेली देशका नेताहरुले मध्यस्थता गर्न दक्षिण कोरियालाई सघाउने विश्वास मुनले गरे ।

यसै वर्ष मुन जेई इन र किम जोङ्ग उनबीच तीन पटक वार्ता भएको छ । मुनले किम जोङ्ग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्तामा पनि मध्यस्थताको भूमिका पनि खेलेका छन् ।

उत्तर कोरियाले युद्ध समाप्त गरेको घोषणा गरेमा अमेरिकासँग उसको सम्बन्ध पनि सुधार हुने मुनले बताएका छन् ।




सम्बन्धित
Loading...