मातृशक्तिप्रतिको सम्मान हो दशैं

0 150







 

 

 

 

 

 

 

 

 

डा. धनपति कोइराला

नारीहरूको सर्वोच्चतातर्फ सङ्केत गर्ने पर्व हो दशैं । प्राग्वैदिक कालीन प्रहरमा मातृसत्ता थियो भन्ने तथ्यको प्रमाण हो यो पर्व । त्यसो त तत्कालीन नारीहरू मन्त्रद्रष्टा पनि थिए । वैदिक मन्त्रद्रष्टा नारीका रूपमा रोमशा, लोपामुद्रा, विश्वबारा, शाश्वती, घोषा, यमी, सूर्या, अपाला, इन्द्राणी, उर्वशी, दक्षिणा, सरसा, जुहू, वाक्, रात्रि, गोत्रा, श्रद्धा, इन्द्रमातर, शची एवम् सर्पराज्ञी आदिको नाम ऋग्वेदको प्रथम मण्डलदेखि दशम मण्डलका मन्त्रहरूमा रहेको छ । बौद्धिक व्यक्तित्वका रूपमा मात्र नभई नारी समर विजयी पनि थिए । नवदुर्गा, आद्यशक्ति स्वरूपा शक्ति, षोडश मातृगण, अष्ट मातृगण, महाकाली, महालक्ष्मी र महासरस्वती यस्ता वीराङ्नाहरू हुन् ।

यस अर्थमा पनि यो चाड मातृशक्तिले आसुृरी शक्तिमाथि विजय हासिल गरेकै खुशियालीमा आरम्भ भएको हो भन्नेमा द्विमत छैन । हुन त यसलाई रामले रावणमाथि विजय हासिल गरेको पर्वका रूपमा लिनेहरू पनि कम छैनन् । तर यस शरद् ऋतुमा गरिने पूजा अर्चना न्यास ध्यान र हवनहरूले शक्ति स्वरूपाले आसुरी शक्तिमाथि विजय प्राप्त गरेकै खुशियालीमा मनाइन आरम्भ भएको भन्ने कथन सान्दर्भिक लाग्दछ ।

मार्कण्डेय पुराण, देवी भागवत आदि पुराणअनुसार सत्य युगमा शुम्भ निशुम्भ आदि दैत्य दानवहरूले देवता, मानव र गन्धर्वहरूलाई अतिशय दुःख दिई जीवन जिउन नै कष्टदायी तुल्याएको विषम परिवेशमा आद्यशक्ति दुर्गा माता मानव सुकन्याका रूपमा प्रकट हुन्छिन् र दानवहरूको उद्यानमा गएर विश्राम गर्न थाल्छिन् । दैत्यराजका अनुचरहरूले देखेर पटरानी बन्न लायक ठानी उनीहरू दैत्यराजका उपस्थित भई सारा वृतान्त सुनाउँछन् । यस्तो अलौकिक सुन्दरताले परिपुष्ट रहेकी कन्याको वर्णनले दैत्यराज मोहित हुन्छन् र लिएर आउन आफ्ना विश्वास पात्रलाई निर्देशन दिन्छन् । राजाको आज्ञा अनुसार लिन गएका दैत्य अनुचरहरूले उनलाई राजाले लिन पठाएको र स्वीकार गरेमा राजाले पटरानी बनाउने प्रलोभन पनि देखाउँछन् तर जगज्जननी माताले युद्धमा जिते मात्र भार्या बन्न सक्ने निर्णय सुनाउँछिन् र युद्धका लागि चुनौती पनि दिन्छिन् ।

उनीहरूले सकेसम्म जगज्जननी दुर्गा मातालाई सम्झाएर लैजाने प्रयत्न गर्दछन् तर उनी मान्दिनन् । निराश बनेका अनुचरहरूले सवै वृत्तान्त लगेर शुम्भनिशुम्भलाई सुनाउँछन् । यस खबरबाट उत्तेजित भएका शुम्भनिशुम्भले माने फकाएर नभए लछारपछार पारेर वा परास्त गरेर ल्याउन सेनापति मधुकैटभलाई आदेश दिन्छन् । उनले फकाउने अनेकौं चेष्टा गरे पनि असफल नै रहेपछि युद्धका लागि अघि बढ्दछन् तर देवी माताका अघि एकछिन् पनि टिक्न सक्दैनन् । उनको कोपभाजन भई मारिन्छन् । यसपछि धुम्रलोचन रक्तवीज आदि अनेकौ असुरहरू आउँछन् सारा असुर फैजलाई नवमाताका रूपमा उत्पन्न भएका चामुण्डा, वाराही, चण्डिका आदिले ध्वस्त तुल्याएपछि शुम्भ आउँछन्, उनलाई पनि सिकार बनाएपछि अन्त्यमा आएका निशुम्भलाई पनि वध गरी राक्षसी आतङ्कबाट स्वर्ग,मत्र्य र पाताललाई मुक्त तुल्याउँछिन् । यसबाट खुशी भएका सारा देवीदेवता नरनारी र गन्धर्वहरूले हर्ष र उल्लासपूर्वक उनको जय जयकार गर्दै लामो समयसम्म पर्व मनाउँछन् ।
यस प्रकार असत्यमाथि सत्यले एवम् आसुरी शक्तिमाथि दैवीशक्तिले विजय हाँसिल गरेको खुशीयालीमा सत्ययुगदेखि नै हरेक वर्ष यो पर्व मान्न आरम्भ गरिएको हो भन्ने पौराणिक मान्यता र विश्वास रही आएको छ । वाल्मीकीय रामायणअनुसार रामले रावणलाई वध गरी देवता मानवादिलाई रावणको आतङ्कबाट मुक्त तुल्याएको अवसरमा यो पर्व चलेको हो भन्ने मान्यता पनि रहेको छ तापनि यो पर्वमा दुर्गाको विशेष पूजा आराधना पनि गरिने भएकाले निशुम्भ दैत्यको वध गरेकै अवसरमा आरम्भ भएका पर्वका रूपमा नै चलेको प्रतीत हुन्छ । खास गरी हिन्दू धर्मावलम्वी अन्य समुदायमा भन्दा नेपाली समुदायमा यो चाड विशेष उल्लासका साथ मनाउने प्रचलन रहेको छ । अन्य समुदायमा दशमीसम्म रहन्छ । दशमीमा दुर्गाको मूर्ति वा प्रतिमाको विसर्जन गरेपछि दशैं समाप्त गर्ने परम्परा रहेको छ भने हामी नेपालीहरूको कोज्राग्रत पूर्णिमासम्म नै कायम रहन्छ तर नेपालको पश्चिमी भूभागतिर भने दशमीसम्म मात्रै रहे पनि पूर्वी भागमा चाहिँ कोज्रागत पूर्णिमासम्म नै कायम रहन्छ ।

पौराणिक तथ्य जे भए पनि दशैं भन्ने वित्तिकै झट्ट हाम्रो मानसपटलमा हर्ष उल्लास र आनन्दमय क्षणको अनुभूति हुन्छ । हामी त्यसै त्यसै पुलकित बन्न पुग्दछौं । अतीतदेखि वर्तमानसम्मकै यादगार क्षणहरू हाम्रो मानसधरातलमा चलचित्रझैं घुम्न थाल्दछन् साथै असत्यमाथि सत्यको जीत र कटुता वैमनस्य एवम् अशान्तिमाथि हार्दिकता मित्रता एवम् शान्तिमय परिवेशको निर्माणका रूपमा परापूर्व कालदेखि चल्दै आएका पर्वका रूपमा पनि लिइन्छ यसलाई, अनि लिइन्छ लामो समयबाट विछोडिएका इष्टमित्र बन्धु बान्धवहरूका बीचको सौहार्दपूर्ण मिलनको पर्वको रूपमा पनि ।

खास गरी घटस्थापनादेखि महानवमीसम्म जमरा राखी धूमधमका साथ दुर्गापूजा गर्ने र दशमीका दिनबाट कोज्रागत पूर्णिमासम्म नै मान्यजनबाट टीका जमरा लगाई यस्तो आशीर्वाद थाप्ने परम्परा रहेको छ –
आयु द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
एैश्वयं नहुषे गतिश्च पवने मानं च दुर्योधने
दानं सूर्यसुते बलंच हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञानं विदुरे भवतुभवतां कीर्तिश्च नारायणे
(अर्थात् द्रोणपुत्र अश्वत्थामाको जस्तै आयु दशरथपुत्र रामको झैं शत्रुनाश, नहुष राजाको झैं एैश्वर्य, वायुको झैं गति, दुर्योधनको झैं मान, सूर्यपुत्र कर्णको झैं दान, हलधर बलरामको झैं बल, कुन्तीपुत्र युधीष्ठिरको झैं सत्तयव्रती, विदुरको झैं ज्ञान र नारायण भगवानको झैं कीर्ति फैलियोस् )
जमरा विभिन्न रोगको औषधी पनि हो । यसले मानवीय रोग र समस्याबाट मुक्त हुनमा मद्दत पनि पु¥याउँछ र यो आयुर्वेदीय गुण भएको एक वनस्पति पनि हो ।

यस पर्वमा हुने खानेमा त आनन्द र हर्ष पैदा गर्छ नै तर हुँदा खानेमा भने निराशा चिन्ता र व्यथा मात्र थप्तछ । उनीहरूका लागि आयो दशैं बाजा बजाई गयो दशैं ऋण बोकाई भन्ने उक्ति चरितार्थ गर्दछ तापनि यसमा गच्छेअनुसार नै घाँटी हेरी हाड निल्नु उपयुक्त हुन्छ । यस पर्वले आम नेपालीको मनमा हर्ष त पैदा गर्छ नै तर राजनैतिक स्थिरता पनि हुनसके अझ नेपालीहरूको घरआँगन र मुलुकमा पनि शान्ति र समृद्धिको लहर आउने आशा राख्न सकिन्छ । दुर्गा भवानीले नेता र नेतृत्ववर्गमा सद्बुद्धि दिऊन् । आउने वर्ष नेपालीहरूका लागि महान् उत्सवको वर्ष बनोस् भन्ने कामना छ । (दाउन्ने साप्ताहिकबाट)

You might also like
Loading...