टिकाको साइट ९ः५१ मा

0

यस बर्ष वडादशैंको टिकाको उत्तम साईत आगामी कार्तिक २ गते ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भोलि कात्तिक २ गते बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टिका लगाउन सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
टिकाको मुख्य शुभ साइत विहान ९ बजेर ५१ मिनेटमा भएपनि त्यस पछि जुनसुकै बेला टिका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
यस्तै, फुलपाती भित्र्याउने साईत बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ ।
कार्तिक ७ गते कोजाग्रत पूर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमीको दिनलाई बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । दशैं नेपाल र भारतमा बढी मात्रामा मनाइन्छ ।
दशैंको टिकाको दिन आफूभन्दा ठूला मान्यजनहरुबाट टिका जमरा लगाइ आर्शिवाद थाप्ने प्रचलन रहेको छ । टाढा टाढा आफन्त भएकाहरुले कोजाग्रत पूर्णिमासम्म दशैंको टिका र जमरा लगाउने प्रचलन रहेको छ।
कोजाग्रत पूर्णिमा कात्तिक ७ गते परेको छ । दशैंमा नयाँनयाँ लुगा श्रृंगार लगाएर पिङ्ग खेल्दै आफ्ना मान्यजनहरुबाट आर्शिवाद लिने प्रचलन नेपालमा निक्कै प्रचलित रहेको छ ।
दशैंको टिका दिन नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दही, रातो अविर, केरा र चालम सहितको समिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने गरी टिका लगाइने गरिन्छ । विजयादशमीको दिन परिवारहरु एकै ठाउँमा बसेर घरको मूलखाँबो पूजा गरेर उमेरक्रम अनुसार ठूलाबाट क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरु साइतको टिका लगाउन आफूुभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगिनी वा दाजुभाईकोमा जाने गर्दछन् ।
घरको मूलीको हातबाट टिका लगाएर सुसुराली, मामाघर वा ठूलाबा, सानोबा, दाजु तथा अन्य मान्यजनकोमा टिका आर्शिवाद थाप्न जाने प्रचलन छ । टिकाको दिन जमरा लगाएर सपरिवार हिड्दा गाउंघर दुलही सिंगारिए झैं सिंगारिएको देखिन्छ ।
टिकाको दिन बर्षमा एक पटक भुई छाड्न पर्ने भन्ने मान्यता अनुसार प्राय लिङ्गे पिङ्ग लगायतका पिङ्गहरु खेल्ने प्रचलन रहेको छ । पछिल्लो समय गाउँघरमा पिङ्ग खेल्ने प्रचलन रहे पनि कतिपय शहर र बजारहरुमा भने पिङ्ग लोप जस्तै भएको छ । बढ्दो आधुनिकतासंगै दशैंमा जुवातास खेल्ने प्रचलन पनि बढेको छ । तर, यसलाई कानुनतः बन्देज गरिएकोले जुवातास नखेल्न सुरक्षा निकायले सूचना समेत जारी गरेको छ ।
दशैंको दिनलाई विजयादशमी र दशहराको नामले पनि चिनिन्छ । धार्मिक मान्यता अनुसार दशमीको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको बध गरेको र श्रीरामले रावणलाई पराजय गरेको सम्झनामा विजयीउत्सव सहिद विजयादशमी मनाउने शुरु गरिएको भनि उल्लेख गरिएको छ । पछिल्लो समय केहीले दशैं बहिस्कार समेत गर्न थालेका छन् ।







सम्बन्धित
Loading...