कसरी सुरू र व्यापक भयो दसैं?

0 123







आर्काइभबाट (पाेष्टबहादुर बस्नेत)

महिनौं लामो झरीको मौसम सकिएपछि सुरु हुन्छ, शरद ऋतु। खेतमा धान झुलेको बेला मध्यपहाडका किसान फुर्सदिला हुन्छन्। वसन्त ऋतुझैं मौसम शितल हुन्छ–अचाक्ली गर्मी सकिन्छ र मुटु कमाउने सिरेटो आएको हुँदैन। खुला आकाशमा चंगा उड्न थाल्छन्। मध्यरातमा सुगन्ध फैलाउने पारिजातका फूल झिसमिसेमै छरिएर भूइँ सेताम्मे भइसकेको हुन्छ। वर्षाले बनाएको हरियो लेउ पारिलो घामले सेकिएर पाप्रा बनेर उप्कन थाल्छ। र, त्यहाँ भेटिन्छ– माटोको मौलिक रङ र सुगन्ध।

शरद ऋतुमा नै पर्छ उल्लासमय दसैं चाड। जीविकाको खोजीमा गाउँघरबाट टाढिएका आफन्तजनले पुनर्मिलनका लागि दसैं कुर्छन्। काठमाडौंबाट घर फर्कन गाडीको टिकट पाउन मानिसको घुँइचो लाग्छ। गाउँमा रमिता हुन्छ, कमेरो माटोले घर पोतिन्छ, केटाकेटी हर्षित हुन्छन्। सरकारी र निजी कार्यालयमा समेत लामो विदा र तलबबाहेकको दसैं खर्च पाइन्छ। मेरो काम कहिले हुन्छ भनी सेवाग्राहीले सोध्दा उत्तर आउँछ– दसैंपछि। खाने, पिउने र उत्सव मनाउने समय हो, दसैं। बाँकी सबै काम त्यसपछि।

उसो त, दसैंको समयलाई कुनै न कुनै किसिमले मान्ने चलन दक्षिण एसियाका अन्य स्थानमा पनि छ। नेपालमा भने दसैं विशेष महत्व र पर्खाइको चाड हो। कसरी यति व्यापक र उल्लासमय भयो नेपालमा दसैं? यसै हो भनी निष्कर्षमा पुग्न पर्याप्त तथ्य र प्रमाण भेटिंदैन। तर दसैंको उत्पत्ति र विस्तारबारे कथा र विवाद भने प्रशस्तै पाइन्छन्।

त्यसमध्ये एउटा कथाले दसैंलाई गोरखा राज्य विस्तार प्रक्रियासँग जोडेको छ। विशेषतः देवी पुजा र शाह वंशीय राजाहरूले उक्त परम्परालाई दिएको महत्वका कारण केही मानवशास्त्रीले त्यस्तो कथामा जोड दिएका हुन्। त्यो कथाअनुसार राजा पृथ्वीनारायण शाहले सपनामा देवीको दर्शन पाएको दावी गरेपछि नेपाल एकीकरण प्रक्रिया सुरु भएको हो।

दिव्य उपदेशमा उल्लेख भएअनुसार पृथ्वीनारायण शाह देवी दर्शनका लागि सल्यानकोट गए, तर त्यहाँको चलन अनुसार उनले मन्दिरभित्र प्रवेश गर्न पाएनन्। मूल ढोकामै बसेर उनले देवीको पूजाअर्चना गरे। त्यसको केही दिनपछि देवीले उनलाई सपनामा आएर दर्शन दिइन् र उनको दुवै हातमा खड्ग थमाइदिइन्। मन्दिरका मगर पूजारी र ज्योतिषले साँच्चै नै देवीले दर्शन दिएको पुष्टि गरेपछि पृथ्वीनारायणले एकीकरण अभियान सुरु गरे।

मानवशास्त्री जोहना फाफ लेख्छिन्– राजा, रजौटा र ठालुले आफ्नो सांसारिक शासनसत्तालाई ईश्वरीय आशिर्वादसँग जोडेर कसरी वैधता दिने प्रयास गर्छन् भन्ने कुरा दिव्य उपदेशमा उल्लेखित उक्त घटनाले प्रष्ट पार्छ। उनका अनुसार देवी पूजा वा दसैंलाई राज्य विस्तारका क्रममा व्यापक बनाइयो। एकीकरणका क्रममा नयाँ स्थानमा देवी मन्दिर बनाउने, नयाँ ठालु वा शासकको नियुक्ति गर्ने र दसैंका समयमा राज्यको तर्फबाट ठालुहरू माझ गरिने अधिकार बाँडफाँडको निर्क्यौल जस्ता कुराले नेपाली राज्य एकीकरण प्रक्रियामा दसैंको केन्द्रीय भूमिका रहेको मानवशास्त्री फाफको दावी छ।

२०४६ सालको परिवर्तन पछिको खुला राजनीतिक परिवेशमा जनजाति आन्दोलनका तर्फबाट दसैं बहिष्कार गर्ने आह्वान भएपछि उनले दसैंबारे अनुसन्धान गरेकी थिइन्। उनले दसैंलाई विशुद्ध ‘हिन्दु’ चाड हो र त्यसलाई राज्यले जबरजस्ती अघि बढाएको तर्कलाई प्राथमिकता दिएकी छन्। शक्तिशालीले धर्मबाट राजनीतिक वैधता खोज्ने चलन संसारभरि नै छ र त्यो हिन्दुको मात्र कुरा होइन। उनको तर्क मान्ने हो भने तराईका हिन्दुले नै दसैंलाई किन त्यही रूपमा मनाउँदैनन् भन्ने प्रश्न उठ्छ।

जनजाति आन्दोलनका अगुवा तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बालकृष्ण मावुहाङ पूर्वी पहाडमा दसैं मान्ने परम्परालाई नेपाल एकीकरण र लिम्बूवानबीच भएको सन्धिसँग जोड्छन्।

उनका अनुसार नेपाल राज्य विस्तारका क्रममा विस १८३१ मा लिम्बूवान र गोरखा राज्यबीच सम्झौता भयो। जसअन्तर्गत पूर्वका लिम्बूहरू ‘भयाद’ अर्थात् हिन्दु हुने र त्यसको बदलामा लिम्बूवानले नेपाली राज्यबाट ‘स्वायत्तता’ प्राप्त गर्ने भयो। ‘असली हिन्दुस्तान’ निर्माण गर्नु नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको मुख्य लक्ष्य रहेको र आफ्नो ‘स्वायत्तता’ जोगाउनु पूर्वका लिम्बूहरूको प्राथमिकता भएको उनको धारणा छ।

त्यसबाट लिम्बू बाहुल्य पूर्वीपहाडमा सुबांगी (स्थानीय मुखिया) प्रथा यथावत् रह्यो। जसअन्तर्गत सुबांगीले निश्चित सीमानासम्मको भुमि नियन्त्रण गरे। त्यसलाई किपट प्रथा पनि भनिन्छ। अर्कातर्फ राज्यसँगको सम्झौताअनुसार सुबांगीले दसैंमा पूजापाठ गर्ने, बली दिने र टीका लगाउने चलन सुरु गरे।

‘सुबांगी अधिनस्थ भूमिमा बस्ने सबै मानिस विजया दशमीको दिन कोसेली बोकेर सुबांगीको हातको टीका थाप्न जान्थे,’ प्राध्यापक माबुहाङ सम्झन्छन्, ‘मेरो बुबा सुबांगी हुनुहुन्थ्यो। मैले जान्दासम्म पनि त्यहाँ बस्ने क्षत्री, बाहुनलगायत सबै मानिस मेरो बुबाको हातको टीका थाप्ने आउँथे।’

उनकाअनुसार दसैंमा टीका लगाउनुको अर्थ स्थानीय सत्तालाई सबैले स्वीकार गर्नु थियो र त्यस्तो व्यवस्थाले दसैं मान्ने परम्परालाई व्यापक बनायो। पञ्चायतकालमा भूमि सुधार कार्यक्रम लागू भएपछि सुबांगी प्रथा अन्त्य भएको र मानिसहरू सुबांगीको घरमा टीका थाप्न जाने चलन नरहेको माबुहाङ बताउँछन्।

‘हिन्दु धार्मिक परम्परा मान्ने कुरा हाम्रो स्वायत्ततासँग विनिमय भएको थियो, तर राज्यले त्यसलाई उल्लंघन गर्यो’ उनको तर्क छ ‘स्वायत्तचाहिँ नहुने तर भयाद भएर हिन्दु परम्पराचाहिँ किन मान्ने भन्ने प्रश्न उठ्यो।’

पूर्वी पहाडका राई समुदायमा पनि दसैंमा गाउँका मुखियाले पूजापाठ गर्ने, मौलो हान्ने (बलि दिने) र त्यसपछि गाउँका सबैले मुखियाको हातबाट टीका लगाउने चलन रहेको धेरैको भनाइ छ। बलि दिइसकेपछि रगतको पञ्जाले घरमा छाप लगाउने र त्यसलाई मुखियाले दसैं मानेको प्रमाणका रूपमा राज्यले लिने गरेको तर्क पनि छन्। तर उक्त कुरा स्थानीय परम्परा हो वा राज्यले त्यसलाई दसैं मानेको प्रमाणका रूपमा लिन्थ्यो भन्ने स्पष्ट छैन।

त्यस्तै केही लेखहरू अनुसार सुबांगीले आफ्नो सत्ता वैधानिकताका लागि राज्यबाट नगरा निशान (दमाहा र झण्डा) प्राप्त गर्ने र त्यसलाई नवमीमा विभिन्न स्थान परिक्रम गरी पुजा गरिने चलन थियो। तर पूर्वी पहाडमा त्यस्ता नगरा निशाना एकीकरण अघि सेन राज्यबाट पनि प्राप्त हुने गरेको र एकीकरणपश्चात् उक्त परम्पराले निरन्तरता मात्र पाएको तर्क पनि पेश हुने गरेको छ।

दसैं उत्सवमार्फत् नेपाली राज्य अनुक्रममा स्थानीय र मुखिया तथा मुखिया र राज्यबीचको सम्बन्धले वैधानिकता प्राप्त गर्ने केहीको तर्क छ। उक्त तर्क मान्ने हो भने नेपालमा राजनीतिक र समाजिक सम्बन्धको वैधानिकताका लागि दसैं महत्वपूर्ण माध्यम बनाइयो भन्न सकिन्छ। तर, त्यही कुरा तराईमा किन लागू भएन भन्ने प्रश्न उठ्छ।

उता मानवशास्त्री डा. सुरेश ढकाल भने दसैंलाई विशुद्ध हिन्दुभन्दा पनि मध्यपहाडमा ऋतु परिवर्तनमा मनाइने उत्सवका रूपमा बुझ्नु पर्ने बताउँछन्।

‘सबै हिन्दुले दसैंलाई विशेष पर्वका रूपमा मनाउँदैनन्। हिन्दु चाड भएको भए त पहाडमा भन्दा तराईमा दसैं झन् धुमधामसँग मानिन्थ्यो होला,’ डा. ढकाल भन्छन्, ‘दसैंको विरोध गर्न विभिन्न तर्क र कथा जोडिएको छ। दसैं भ्रमको पुञ्ज नै भएको छ।’

उनका अनुसार संसारभरि नै कृषिमूलक समाजमा मुख्य बाली भित्र्याएपछि मानिस कृतज्ञ भएर विशेष पर्वहरू मनाइन्छ र त्यसै सन्दर्भमा मध्यपहाडमा दसैं मनाउने चलन भएको हो। दसैंमा गरिने कृषि औजार वा जमरा पूजा भनेको भूमि पूजासँगै जोडिएको उनको भनाइ छ। उनकाअनुसार निश्चित उत्पादन प्रणालीमा निश्चित पर्वहरू हुन्छन् र सामाजिक व्यवस्थाअनुसार त्यस्ता पर्वलाई धर्मका रूपमा ‘कोडिफाई’ हुनु पनि आश्चर्य होइन।

‘यदि दसैं विशुद्ध हिन्दु चाड भएको भए पहाडी हिन्दु उच्च जातका मानिसले समेत दसैं किन एकै ढंगले मनाउँदैनन्?’ ढकाल प्रश्न गर्छन्। उनका अनुसार सुदुर पश्चिममा अहिलेको दसैंभन्दा पनि चैते दसैंलाई बढी महत्व दिइन्छ, र केही स्थानमा एकदिन र केहीमा पूर्णिमासम्म टीका लगाएर उत्सव मनाइन्छ।

ऋतु परिवर्तनको तर्क मान्दा उक्त पर्व किन बाली भित्र्याउने चटारो हुने समयमा नै मनाइन्छ भन्ने प्रश्नचाहिँ रहन्छ।

उसो त, गोरखा राज्य विस्तारपछि जबरजस्ती रूपमा दसैं देशभरि फैलिएको तर्कसँग संस्कृतिविद् सत्यमोहन जोशी पनि सहमत छैनन्।

‘नेपालमा विभिन्न ढंगले दसैं मनाउने चलन छ। त्यसमा विभिन्न बदलावहरू आउँछन्’ जोशी तर्क गर्छन्, ‘काठमाडौंमा पनि दसैं नेपाल एकीकरणभन्दा अघिदेखि नै हर्षोल्लासले मानिन्थ्यो।’

तर कम्तिमा पनि राज्यले दसैंलाई प्रोत्साहन र प्रवर्द्धन गरेको भने देखिन्छ। शैक्षिक तथा न्याय सेवाहरूमा १५ दिन र अन्य कर्मचारीले फूलपातीदेखि एकादशीसम्म (हालको व्यवस्थाअनुसार) सार्वजनिक विदा पाउँछन्। त्यसका साथै उनीहरूले एक महिनाको तलब बराबर खर्च पनि पाउँछन्। फूलपातीका दिन गोरखा दरबारको दसैंघरबाट फूलपाती राजधानी ल्याएर बढाइँका साथ हनुमान ढोका भित्र्याइन्छ। दसैंघरको मूल चोक तलेजू भवानीलाई ५४ राँगा र त्यत्ति नै संख्यामा बोका बलि दिइन्छ।

 

त्यसबाट राज्य र दसैंबीचको सम्बन्ध प्रष्ट हुँदैन र?

‘राज्यले कुनै पर्वलाई प्रवद्र्धन गर्नु गलत र आश्चर्यको कुरा नै होइन। कुनै पर्व वा परम्परा प्रवद्र्धन गर्ने कुरा संसारभरि नै हुन्छ,’ डा. ढकाल तर्क गर्छन्, ‘अझ एउटा साझा चाड विकसित हुनु राम्रो कुरा हो। तर त्यसलाई जबर्जस्ती वा हिन्दुको पर्व भनेर प्रवर्द्धन गर्नुभएन।’

मध्यपहाडमा उल्लासपूर्ण ढंगले मनाइने दसैं २०४६ सालको खुला राजनीतिक परिवेशपछि भने विवादको चपेटामा पर्यो। दसैं विशुद्ध हिन्दु चाड र दुर्गा-महिशासुर कथालाई आर्य र जनजातिबीचको राजनीतिक र साँस्कृतिक द्वन्द्व तथा प्रभुत्वका रूपमा पनि व्याख्या भयो।

शाही मन्त्रीमण्डलका सदस्य र दसैं बहिष्कारका अभियन्ता गोरेबहादुर खपांगीले सन् २००२ मा राजाको हातबाट टीका ग्रहण गरेपछि दसैं बहिष्कार अभियानमा ठूलो प्रश्न चिन्ह लागेको थियो। जनजाति संस्थाहरूले दसैं मनाउनेलाई दण्डित तथा बहिष्कृत गर्ने अभियान चलाएका थिए। त्यसै समयको आसपास बहिष्कार गर्नेले पनि फेरि दसैं मान्न सुरु गरे। अहिले टीका लगाउँदै नलगाउनेले पनि टीका लगाउन सुरु गरेको देखिन्छ भने सेतो टीका लगाउनेले समेत रातो टीकामा फर्किएको देखिन्छ।

दसैं बहिष्कार अभियानको प्रभाव हराउनुको कारण लामो विदा र लामो समयदेखिको चलनले काम गरेको मानवशास्त्री डा. मुक्तसिंह लामा बताउँछन्।

‘अहिले स्वेच्छिक ढंगले दसैं मान्ने/नमान्ने वा आफ्नो ढंगले मान्न मानिस स्वतन्त्र छन्। त्यो स्वेच्छिक कुरा भयो,’ डा. लामा भन्छन्, ‘विदा, दसैं खर्च, भेटघाट जस्ता कुरा छन्। उक्त समयलाई विभिन्न र आ–आफ्नै तरिकाले मनाउने चलन पनि छ।’

उनका अनुसार बौद्ध धर्म गुरु पदमसम्भवको जन्म पनि विजया दशमी पर्ने हुनाले तामाङ समुदायमाझ दसैंको समयमा गुम्बा गएर ध्यान गर्ने चलन पनि सुरु भएको छ। उक्त चलनलाई पनि फरक ढंगले दसैं कै निरन्तरता रूपमा बुझ्न सकिन्छ।

दसैंलाई राज्यले पनि लामो समयदेखि प्रवर्द्धन गरेको तर्क सही देखिन्छ। तर, दसैंलाई विशुद्ध हिन्दु चाड र नेपाल एकीकरणको प्रक्रियामा यसलाई जबर्जस्त रूपमा लादिएको तर्क गर्नेले आँखा चिम्लिएको अर्को पक्ष नेपालका विभिन्न जाति/जनजातिबीचको सम्बन्ध र साँस्कृतिक घुलमिल हो। जस्तै, हलेसी, बराह क्षेत्र, पञ्चकन्या, बुढासुब्बा मन्दिरहरू साझा धार्मिक स्थलका रूपमा विकास भएका छन्। कुनै जनजाति समुदायमा दसैं मान्ने तरिका यति पृथक र स्थानीय छ कि त्यसलाई अत्यन्त लामो समयदेखिको सामाजिक अन्तरघुलनले मात्र सम्भव बनाउन सक्छ।

त्यस्तै, जनमानसमा बुझिने हिन्दु धर्ममा गाईको मासुमा बन्देज बाहेक निश्चित सिद्धान्त र अभ्यास निर्धारित छैनन्। पृथ्वीनारायण शाहको ‘असली हिन्दुस्तान’मा ‘हिन्दु’ भन्नाले कुनै निश्चित धार्मिक अभ्यासभन्दा पनि मुस्लिम र क्रिस्चियन धर्मबाट फरक र स्थानीय धार्मिक परम्परालाई बुझाएको देखिन्छ। त्यसले ‘हिन्दु धर्म’को दायरालाई फराकिलो पार्छ। अझ मानिसले दशैं मान्नुको कारण यसको धार्मिकभन्दा पनि आफन्तजनसँग समय बिताउने र खानपिन गर्ने जस्ता भौतिक कुरा जोडिनु हो। त्यस्तो परम्परालाई चटक्कै छोड्न गाह्रो हुन्छ।

इलाममा दसैंबारे अध्ययन गरेकी मानवशास्त्री सुसन ह्यान्गेनका अनुसार जनजाति अगुवाको आह्वानमा सशक्त ढंगले दसैं बहिष्कार गरेको त्यहाँको पुरै गाउँका मानिसले फेरि उल्लासमय ढंगले उक्त पर्व मान्न थाले। किन त्यस्तो भयो भन्ने उनको प्रश्नमा प्राध्यापक तथा जनजाति नेता डा. ओम गुरुङले उत्तर दिएका छन् – किनकि दसैं वर्ष दिनमा आउने गज्जबको समय हो, त्यतिबेला जताततै उल्लासपूर्ण वातावरण हुन्छ।

दसैं व्यापक र लोकप्रिय हुनुको कारण यसको धार्मिक महत्वभन्दा पनि पारिवारिक र आफन्तजन भेला भएर मानिने उत्सवका रुपमा यसको विकास हुनु हो। पुस्तौंदेखि दसैं उत्सवका सम्झना र उत्साह आम मनोविज्ञानमा गहिरोसँग गाडिएका छन्। दसैं कथाको निर्माण, पुनर्निर्माण वा ऐतिहासिकताबारे विवाद भए पनि दसैं धर्मको साँघुरो घेराबाट बाहिर निस्किएको छ। त्यसैकारण पनि दसैं नेपालीहरूमाझ लोकप्रिय चाडका रूपमा रहिरहने देखिन्छ।

You might also like
Loading...