मुक्त कमैया र हलियालाई यसै वर्ष पुनःस्थापना गरिने

0 45







काठमाडौं । सरकारले यसै आर्थिक वर्षमा मुक्त कमैया र हलियाको पुनःस्थापनाको काम पूरा गर्ने भएको छ । मुक्त कमैया र हलिया घोषणा भएको धेरै समय भए पनि उनीहरूको पुनःस्थापना हुन सकेका थिएन ।

पहिले बजेट अभावको कारणले मुक्त घोषणा गरिए पनि पुनःस्थापना हुन सकेको थिएन । चालू आर्थिक वर्षमा सरकारले पुनःस्थापना हुन नसकेका मुक्त कमैया र हलियालाई पुनःस्थापना गर्ने गरी बजेट विनियोजन गरेका कारण अब उनीहरूको पुनःस्थापना हुन थालेको हो ।

भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस वर्ष पुनःस्थापना हुन नसकेका सबै मुक्त कमैया र हलियालाई पुनःस्थापना गर्ने प्रवक्ता जनकराज जोशीले जानकारी दिए । सरकारले यस वर्ष सबै मुक्त कमैया र हलियालाई पुनःस्थापना गर्न ३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । ‘कमैया र हलिया मुक्त गरे पनि लामो समयसम्म पुनःस्थापना हुन सकेका छैन,’ उनले भने, ‘त्यसैले यो आर्थिक वर्षमा स्थानीय तह र गैरसरकारी संस्थाको पहलमा पुनःस्थापना सक्ने गरी सरकारले काम अगाडि बढाएको छ ।’

प्रवक्ता जोशीले पुनःस्थापना हुन बाँकी रहेका मुक्त कमैया र हलियालाई सूचना निकालेर उनीहरूका लागि जग्गा खरिद र घर बनाउन जिल्लाजिल्लामा मन्त्रालयबाट कर्मचारी खटिएको बताउए । हलिया पुनःस्थापना गर्न धेरै भएकाले सरकारले जिल्लास्तरमा ‘द्रुत पुनःस्थापना समूह’ समेत गठन गर्ने भएको छ ।

सरकारले मुक्त कमैया पुनःस्थापना कार्यान्वयन समिति र मुक्तहलिया पुनःस्थापना समिति गठन गरेको छ । मन्त्रालयका भूमि व्यवस्थापन महाशाखा प्रमुख शंकरबहादुर थापाले यसै आवभित्र पुनःस्थापना गर्ने गरी मुक्तकमैया र हलियाको प्रमाणीकरण गरी बैंक खाता खोल्ने काम भइरहेको छ ।

मन्त्रालयले यस आवमा पुनःस्थापनका लागि अनुदान प्राप्त गर्न सूचना प्रकाशन गर्ने, अनुदान प्राप्त गर्नेबाट निवेदन संकलन गर्ने, प्राप्त निवेदन छानबिन गर्ने र निवेदकको मागबमोजिम जग्गा खरिद गरी घर निर्माण गर्ने भएको छ ।

मुक्त कमैयाका लागि जग्गा खरिद, घर निर्माण र काठबापत १ अर्ब ३३ करोड ६५ लाख ३ हजार र हलियाका लागि २ अर्ब ५५ करोड ३४ लाख ७ हजार लाग्ने अनुमान छ । सरकारले २ साउन २०५७ मा मुक्त कमैया र २१ भदौ २०६५ मा हलिया मुक्तको घोषणा गरेको थियो । रासस

You might also like
Loading...