डडेल्धुरा दुर्घटनाका घाइते भन्छन्– मुख्यमन्त्रीले वचन दिए, पूरा गरेनन्

0




१३ मंसिर, कैलाली । डडेल्धुराको रडुवाखोला बस दुर्घटनाका घाइते आर्थिक समस्यामा परेका छन् ।

विभिन्न अस्पतालमा उपचाररत घाइतेलाई भेटेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समपूर्ण खर्च प्रदेश सरकारे व्यहोर्ने वचन दिएका थिए । तर, कतैबाट पनि सहयोग नपाएको गुनासो पीडितहरुले गरेका छन् । मुख्यमन्त्रीले यस्तो वचन दिए पनि उनीहरुले अहिलेसम्म सहयोग नपाएको गुनासो गरेका छन् ।




सर–सापट र बुहारीको गहना बिक्री गरेर छोरी संगीता विकको उपचार गराइरहेकी आमा गणेशले उक्त रकम सकिएपछि अब के गर्ने भन्ने चिन्ताले सताएको बताइन् ।

‘सहयोग गर्छु भनेर प्रदेश सरकारका मान्छे र मन्त्री आएका थिए, तर अहिलेसम्म कसैले सहयोग गरेका छैनन्,’ सोही दुर्घटनामा जेठी छोरी शशी गुमाएकी गणेशले प्रश्न गरिन््, ‘सरसापट र बुहारीको गहना बेचेर जुहाड रकम पनि सकियो । अब कहाँबाट रकम जुटाएर छोरीको उपचार गरौं ?’

शशीका छोरा नवीनसमेत उक्त दुर्घटनामा घाइते भएको उनले बताइन् । नवीनको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आमा बितेको र बुवाले पनि अर्को विवाह गरेकाले टुहुरो नाती नवीनको भविष्यको चिन्ताले अहिलेदेखि नै थिच्न थालेको छ ।

सेती अञ्चल अस्पतालमै उपचाररत अर्का घाइते हरिनाथकी आमा चन्द्रादेवी धामीले खर्च रित्तिँदा औषधि किन्ने पैसासमेत नभएको गुनासो गरिन् । सोही दुर्घटनामा हरिनाथका श्रीमान् योगेन्द्रको पनि मृत्यु भएको थियो । हरिनाथको बाया खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाइते ल्याएको दिन प्रदेश सरकारका पदाधिकारी र नेताहरु आएर सहयोग गर्छौं भने पनि आर्थिक सहयोग नपाएको चन्द्रादेवीले बताइन् । ‘अहिलेसम्म ऋणसापटी गरेर जसोतसो उपचार गराइरहेका छौं,’ उनको चिन्ता छ, ‘यही पनि सकिएपछि कहाँ जानू ?’

गत ६ मंसिरमा डडेल्धुरा रडुवाखोलामा भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए । घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरा, धनगढी, नेपालगंज र काठमाडौंमा उपचार भइरहेको छ ।

उपचाररत घाइते र तिनका आफन्तले उपचारमा आर्थिक सहयोगका लागि याचना गरेका छन् ।

यसैबीच, जापानमा रहेका नेपाली विद्यार्थीहरुले सेती अञ्चल अस्पतालमा उपचाररत दुई घाइतेलाई जनही १०/१० हजार रुपैयाँ सहयोग गरेका छन् ।

कैलालीको अत्तरिया घर भई अध्ययनका लागि हाल जापानको आइची सांग्यो विश्वविद्यालयमा अध्ययनरत गौरीशंकर भण्डारीलगायतको पहलमा दीपायल राजपुरकी संगीता बिक र हरिना बोहरालाई बिहीबार उक्त रकम हस्तान्तरण गरिएको हो ।




सम्बन्धित
Loading...