गण्डकमा भारतले किन गर्छ गुणस्तरहिन काम

0 272












श्याम थापा,


नवलपरासी (सुस्ता) । पश्चिम नवलपरासीको गण्डक क्षेत्रको नारायणी नदीमा हुने तटबन्ध तथा निर्माण कार्यहरूमा बर्षेनी रूपमा भारतीयहरुले पटकपटक लापरबाही गर्ने गरेको पाइएको छ।

यस बर्ष पनि सुस्ता गाउँपालिका वार्ड न ४ नर्सही स्थित नारायणी नदीको ठोक्कर नं. ६ मा भैरहेको ठोक्कर मर्मत तथा तटबन्ध कार्य भारतीय गण्डक कर्मचारी र भारतीय ठेक्दारहरुको मिलोमतो गुणस्तरहीन कार्य भैरहेको भन्दै स्थानीयबासीहरुले सो कार्य गर्न दिएका थिएनन ।

अहिले भई रहेको ठोक्कर मर्मत तथा तटबन्ध कार्यको गुणस्तरहीन भैरहेको भन्दै स्थानीयबासीहरुले विरोध गर्दै आइरहेका छन् । स्थानीयले पटक पटक विरोध गर्दै प्रशासनको हारगुहार गर्ने गरिरहेको भए पनि नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने यस विषयमा कुनै गुनासो तथा जानकारी नआएको बताए।

उनले यस विषयमा जानकारी लिई आवश्यक कारवाही अगाडि बढाउने बताए।

स्थानीयको विरोध पछि ठोक्कर न ६ को तटबन्ध कार्यको सिचाइ विभाग द्वितीय सिचाइ खण्ड महाराजगन्ज भारतबाट एस डि ओ अनिल कुमार सिंहले अनुगमन गरी उनी स्वयम् गुणस्तरहिन काम भएको स्वीकार गरेका छन् । तथापि उनको अनुमगन पछि पनि मर्मतको काम भने राखिएको छैन साथै कामको गुणस्तर पनि बढाएको देखिदैन ।

अनुगमन पछि सिंहले पत्रकारहरुसंग कुराकानी गर्दै नारायणी ठोक्कर न ६ मा भैरहेको जालीद्वारा तटबन्ध कार्य एकदमै गुणस्तरहीन भएको र उक्त जालीहरु सम्पूर्ण हटाइ नयाँ जाली बनाएर काम गर्न निर्देशन दिएको बताए ।

उक्त क्षेत्रमा ढुंगा अडाउन भरिएका जालीका प्वालहरु ढुंगा भन्दा पनि निक्कै ठूला ठूला छन भने कतिपय जाली ठाउँठाउँमा छिनीसकेका जाली प्रयोग गरेका छन् ।

ठूलो प्वाल भएको जालीमा ढुंगा भर्ना बाढीको बेला पानीको बहावले उक्त ढुंगा सजिलै तलमाथि गर्न सक्ने अथवा राखिएको निश्चित ठाउँबाट अर्को ठाउँमा पुर्याउन सक्ने हुँदा यस्तो जालीले खासै नदीबाट हुने कटान रोक्न नसक्ने स्थानीयको तर्क छ । त्यति मात्र नभएर पुरानो जस्तो देखिएने ठाउँठाउँमा चुडिएको जाली समेत प्रयोग गरेकोले मर्मतको काम झारो टार्ने किसिमको मात्र हुने गरेको देखिन्छ ।

सिचाइ विभाग द्वितीय सिचाइ खण्ड महाराजगन्ज भारतका एसडिओ सिंहलाई यस बिषय र गण्डक क्षेत्रमा हुने काम पटकपटक किन यसरी भारतीय पक्षबाट लापरबाही हुने गरिरहेको छ भनेर जिज्ञासा राख्दा उनले आफूहरुबाट कामको अनुगमन कम हुँदा यस्तो भएको बताए ।

उनले भने – हामी बस्ने कार्यालय धेरै टाढा छ। यहाँ काम भईरहेको ठाउँमा आउन समय लाग्दा हुँदौ खासै अनुमगन गर्न भ्याइदैन त्यसैले यस्तो भएको हो ।

भारतीय प्रशासनले अनुगमन गर्न नभ्याए पनि उनले नेपाली प्रशासनले कामको अनुगमन गरी आफूहरुलाई जानकारी गराउन सकिने भए पनि त्यो पनि हुन नसकेकोले यस्तो अवस्था आएको उनको कथन छ ।

नेपाल भारतको सिचाइ मन्त्रालय तथा नेपाल र भारतको गण्डक सिचाइ कार्यहरूमा नेपाल र भारतको बीचमा रहेर राजदूतको जस्तो कार्य गर्नका लागि सम्पर्क तथा भु अर्जन कार्यालय वाल्मीकि नगर भनेर एउटा कार्यालय पनि रहेको छ तर सो कार्यालयले गण्डक क्षेत्रमा भएको सम्पूर्ण कार्यहरूको अनुगमन गर्ने र के कस्तो काम भएको छ भनेर प्रतिबेदन पनि तयार गर्ने जिम्मा भए पनि अनुगमनको पाटोमा कुनै ध्यान नदिएको पाइन्छ ।

बि स २०१६ सालमा गण्डक क्षेत्रमा भारतले सम्पूर्ण तटबन्ध तथा निर्माण कार्यहरु गर्ने भएको गण्डक क्षेत्रमा भारतले टेन्डर प्रक्रिया अनुसार कार्य गर्ने गरेको छ ।

सुस्ता गाउंपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले आफूले यस विषयमा जानकारी पाएपछि अुनगमन गर्दा निक्कै गुणस्तरहिन काम भएको पाइएको बताए ।

गण्डक क्षेत्रमा कार्य गराउने भारतीय ठेक्दारहरुको कम्पनी रहने गरेको र नेपाली प्रशासनहरुको अनुगमन कार्य फितलो भएको कारणले पनि यस्तो लापरबाही कार्य भारतीय पक्षले गर्ने गरेको गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासीका सचिव शैलेन्द्र कुमार शर्माले बताए ।

गण्डक क्षेत्रमा बर्षेनी भारतीय ठेक्दार र गण्डकका कर्मचारीहरुले सही कार्य गरि डुबान तथा कटान जस्ता कार्यमा नेपालीहरुको भूमि बचाउन भन्दा पनि आफूहरुले कसरी कमाएर आफ्नो थैलो भर्ने कार्य मात्र गर्ने गरेको स्थानीय रमेश कुमार हरिजनले बताए।

स्थानीय तहमा आफ्नो क्षेत्रमा रहेका नदिनाला, खोला र वन जंगल जस्ता स्रोतहरुको सदुपयोग र दुरुपयोग हुनबाट जोगाउनको लागि स्थानीय तहको जिम्मेवारी रहेको हुदा ठोक्कर न ६ भने सुस्ता गाउँपालिकाको माताहतमा पर्ने गरेको छ। पाण्डेले गण्डक क्षेत्रमा नदि तथा ठोक्कर मर्मत कार्य लापरबाही ढंगले भैरहेको भन्दै सम्बन्धित निकायहरुमा खबर गरेको बताए।

गण्डक क्षेत्रमा भारतीय पक्षले पटकपटक बर्षेनी यस्तै लापरबाही ढंगले काम गर्दै आएको र नेपाली प्रशासनहरुको फितलो अनुगमनको कारणले गर्दा गण्डक क्षेत्रका साबिक गाबिसहरु पक्लिहवा, नर्सही, कुडिया, त्रिबेणि सुस्ता, गुठिप्रसौनी, सूर्यपुरा, बैदौली, सोमनी, प्रतापपुर, जमुनिया, खैरटहवा, भुजहवा, रामपुर खडौना गरी १३ वटा गाबिसहरु खतरामा पर्ने अवस्था देखिन्छ ।



You might also like
Loading...