बच्चासँग कस्तो समय विताउनुभयो ?

0 172












तपाईं वेफुर्सदिला हुनुहुन्छ । आफ्नो काम र करियरप्रति सचेत हुनुहुन्छ । दिनरात काममा खटिनुहुन्छ । केका लागि ?


जवाफमा भन्नुहोला, ‘मेरो जिन्दगीका लागि । मेरो परिवारका लागि । मेरो बालबच्चाका लागि ।’

अब सोच्नुहोस् त, जसका निम्ति तपाईं आज आफुलाई घोटिरहनुभएको छ, उनीहरुलाई तपाईंले आर्जन गर्ने धनसम्पति, तपाईंले उपलब्ध गराउने सेवा सुविधा मात्र चाहिएको हो ?

अर्थात तपाईंका परिवार र बालबच्चाका लागि तपाईं केवल यन्त्र मानव मात्र हो ?

के बालबच्चा, परिवारले तपाईंबाट सुख सयल मात्र खोजेका छन् ?

अब तपाईंको जवाफ यस्तो हुनेछ, ‘होइन, पक्कै पनि ।’

सही भन्नुभयो । तपाईं आज दिनरात खटिनुभएको छ । काममा मरिहत्ते गर्नुभएको छ । जीवन नै आफ्नो कामधन्दा/पेशा-व्यवसायमा समर्पित गर्नुभएको छ । तपाईंको एकमात्र ध्याउन्न भनेको करियर बनाउनु हो । धन आर्जन गर्नु हो । ख्याती कमाउनु हो । भविष्य उज्वल बनाउनु हो । सबैभन्दा महत्वपूर्ण कुरा त तपाईं आज जसरी खटिनुभएको छ, त्यो भोलिका निम्ति हो । भोलि, जब तपाईंका बालबच्चा हुर्कनेछन् । उनीहरुले सुखभोग गर्न सकोस् भन्नका खातिर हो ।

तर, तपाईंका बालबच्चा, परिवारले तपाईंबाट धन मात्र चाहेका छैनन् । सुख-सुविधाको मात्र अपेक्षा गरेका छैनन् । उनीहरुलाई तपाईंको समय चाहिएको छ । तपाईंको सामिप्यता चाहिएको छ ।

उनीहरुलाई तपाईंले कमाएर ल्याउने भौतिक साधन होइन । तपाईंले संचित गरिदिने बैंक ब्यालेन्स होइन । तपाईंले खरिद गरिदिने लत्ताकपडा होइन । तपाईंको स्पर्श चाहिएको छ । तपाईंको न्यानोपन चाहिएको छ ।

एकपटक तपाईं आफ्नो बालबच्चाको अनुहार सम्झनुहोस् त । के उनीहरु तपाईंको स्पर्शबाट विमुख भइरहेका छैनन् ? के उनीहरु तपाईंको सामिप्यताबाट टाढिएका छैनन् ?

पक्कैपनि, तपाईंले बालबच्चाका लागि समय दिन नचाहनुभएको होइन । तपाईं पनि बच्चालाई समय दिन चाहनुहुन्छ । तर, तपाईंलाई फुर्सद छैन । फुर्सद यसकारण छैन कि, तपाईंसँग कामको चाङ छ । धेरै किसिमका जिम्मेवारी छ । उत्तरदायित्व छ ।

तर, यवात् कारणले तपाईंलाई फुर्सद नमिलेको होइन । बरु तपाईंको प्राथमिकतामा छोराछोरीभन्दा बढी कामले महत्व पाएको हो ।

अर्थात तपाईं काम, कार्यलय, पेशा, व्यवसायप्रति जति लगाव राख्नुहुन्छ, त्यती लगाव आफ्ना बालबच्चाका लागि राख्नुहुन्न । यसको मतलब यो होइन कि, तपाईंले सम्पूर्ण रुपमा बालबच्चालाई समय दिनुपर्छ । किनभने हामीसँग थुप्रै बाध्यता छन् । जिम्मेवारी छन् । त्यही कारण हामी बालबच्चासँग दिनभर वा पर्यात समय खेल्न, रमाउन पाउँदैनौं ।

तर, कार्य-व्यस्तताको बिचमा पनि तपाईं/हामीले बच्चाका लागि समय दिन सक्छौं ।

यतिबेला तपाईं सम्झदै हुनुहुन्छ होला, ‘मैलें त बच्चालाई समय दिएको छु । बच्चालाईं होमवर्क गराएको छु । लुगा लगाइदिएको छु । उनीहरुलाई घुमफिर गराएको छु ।’

यहाँ आइपुगेपछि एउटा प्रश्न गर्नैपर्छ ।  ‘आफ्ना बालबच्चासँग तपाईंले कस्तो समय विताउनुभयो ?’

यो प्रश्नको खास अर्थ छ । किनभने तपाईंले बच्चाका लागि कति समय विताउनुभयो भन्ने कुराले अर्थ राख्दैन । तपाईं बिहान-बेलुकी घरमा बस्नुहुन्छ । राती घरमै सुत्नुहुन्छ । बिहान-साँझको खाना पनि घरमै खानुहुन्छ । यत्तिका समय त तपाईं बालबालिकाको साथमा हुनुहुन्छ । तर, यत्तिका अवधी कसरी विताउनुभयो ? महत्वपूर्ण प्रश्न हो यो ।

हुनसक्छ तपाईं घरमा टिभी हेर्दै हुनुहुन्थ्यो । मोवाइलमा गेम खेलिरहनुभएको थियो । फेसबुकमा तल्लिन हुनुहुन्थ्यो । वा फेरी घरायसी काममा लाग्नुभएको थियो । ल्यापटपमा आफ्नै काम गरिरहनुभएको थियो । बगैंचाको काम गरिरहनुभएको थियो । यसरी समय गुजारिरहनुभएको छ भने त्यसले बालबच्चालाई के प्रभाव पारेको छ ?

घरमा तपाईंले धेरै समय त विताउनुभयो तर बच्चाका खातिर तपाईंले समय दिनुभएन ।

जबकी तपाईं यतिबेला बच्चासँग हेलमेल हुनुपथ्र्यों । बच्चासँग संवाद गर्नुपथ्र्यों । बच्चाको कुरा सुन्नुपथ्र्यों ।

हो, बालबालिकासँग हामीले अभिभावक मात्र होइन, साथीको रुपमा पनि आफुलाई पेश गर्नुपर्छ । यतिबेला तपाईंले उनीहरुलाई यस्तो महसुष गराउनुहुन्न कि, तपाईं उसको बुवा हो । आमा हो । बालबालिकालाई लाग्नुपर्छ, तपाईं उसको मिल्ने साथी हो । दौतरी हो ।

र, यतिबेला तपाईंले आफ्ना बालबालिकासँग यसरी खेल्नुपर्छ, मानौ तपाईंलाई पनि त्यो खेल्नमा औधी रुची छ । बालकालिका जस्तै गरेर, उनीहरुकै लवज, भाषा बोलेर खेल्नुपर्छ । बच्चालाई यस्तो लाग्नुपर्छ कि, तपाईं बुवा वा आमा नभएर साथी हो ।

अहिलेको अवस्थामा त यो किनपनि आवश्यक छ भने, बच्चाहरु एक्ला छन् । एकल परिवारमा हुर्किएका उनीहरु एकल सन्तान हुन् । उनीहरुसँग खेल्ने साथी छैनन् । खेल्नका लागि ठाउँ छैन । आफ्ना दाजुभाई, दिदीबहिनी छैनन् । आमाबुवालाई फुर्सद छैन । त्यही कारण उनीहरु मोवाइलमा रमाउनु परेको छ । भिडियो गेममा आफुलाई भुलाउनु परेको छ । टिभीको कार्टुनमा आफुलाई एकोहोरो बनाउनु परेको छ ।

यसरी एक्लिदै गएको बच्चालाई तपाईं दुबै आमाबुवाले साथीको भूमिका निर्वाह गर्नुपर्छ । उनीहरुसँगै खेल्ने गर्नुपर्छ । उनीहरुसँगै कार्टुन हेर्ने गर्नुपर्छ । अनलाइनखबरसँग कुरा गर्दै अभिनेत्री संचिता लुईटेलले भनेकी थिइन्, ‘बच्चासँग कार्टुन हेर्न थालेकी छु । कार्टुनमा रमाउन थालेकी छु । मलाई अरु सिरियल भन्दा कार्टुन रमाइलो लाग्न थालेको छ । उनीहरुकै खानेकुरा मन पर्न थालेको छ । म पनि केक, आइसक्रिममा रमाउन थालेकी छु ।’

संचिताले एकसाथ दुई सन्तान हुर्काइरहेकी छिन् । उनलाई आफ्नो बालबच्चासँग कसरी क्वालिटी टाइम विताउने भन्ने कुराको खास ज्ञान छ । अनुभव छ । संचिता भन्छिन्, ‘बच्चाहरुका लागि आफुपनि बच्चा जस्तै हुनुपर्ने रहेछ ।’

अर्ली चाइल्डहुड एजुकेशन विज्ञ कुमुद भट्टको बुझाई पनि यस्तै छ । उनीको बुझाईमा बालबालिका लागि आमाबुवाले बच्चा जस्तै हुनुपर्छ । ‘बच्चाका लागि बच्चा जस्तै हुनुपर्छ’ उनी भन्छिन्, ‘उनीहरु जसरी खेल्ने, उनीहरुकै लवजमा बोल्ने गर्नुपर्छ ।’

जब आमाबुवा बच्चाको साथी हुन्छन्, बच्चाको आनीबानीमा सुधार गर्न पनि धेरै सहज हुन्छ । किनभने यस क्रममा उनीहरुले नजिकबाट बच्चाको भावना बुझ्न सक्छन् । बच्चासँग संवाद हुन्छ । उनीहरुको गुनासो र अप्ठ्यारो सुन्न सकिन्छ ।

जब कुनै बच्चा हामीमाथि हावी हुन्छन्, उनीहरु मन खोलेर कुराकानी गर्छन् । यसले गर्दा बच्चा के चाहन्छन्, के कुरामा असहज मान्छन्, के कुरामा रमाउँछन् भन्ने कुरा थाहा पाउन सकिन्छ ।

साथसाथै उनीहरुलाई खेलकै माध्यामबाट नयाँ नयाँ अभ्यास गर्न लगाउन सकिन्छ । भान्साको काममा सहभागी गराउन सकिन्छ । घरको सरसफाई वा बगैंचाको काममा खटाउन सकिन्छ । यसले गर्दा उनीहरुको क्षमता विकास हुन्छ । शारीरिक सक्रियता बढ्छ । श्रमको मूल्य बुझ्छ ।

बालबालिकासँग हामीले यसरी नै समय व्यतित गर्नुपर्छ, जसले उनीहरुलाई केही उत्प्रेरणा, केही हौसला, केही जाँगर, केही खुसी दिलाउँछ ।



You might also like
Loading...