ट्रम्प-किम वार्ता: रेल चढेर उत्तर कोरियाली नेता भियतनाम पुगे

0 88












उत्तर कोरियाली नेता किम जङ-अन बुधवार र बिहीवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने दोस्रो शिखरवार्ताका लागि भियतनामको हनोई पुगेका छन्।
दुई दिनभन्दा बढी समय लगाएर उनले प्योङ्याङदेखि हनोईसम्मको झन्डै चार हजार किलोमिटरको यात्रा एउटा निजी रेलमा गरेका थिए।
ट्रम्प र किमबीच गत वर्ष सिङ्गापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो। उनीहरूले वार्तालाई निरन्तरता दिने सहमति गरेका थिए।
अहिलेको उनीहरूको भेटघाट कार्यक्रमबारे बल्ल केही स्पष्ट हुन थालेको छ।
आइतवार किम प्योङ्याङबाट हिँडेको पुष्टि भएपछि मात्र शिखरवार्तामा उनको सहभागिताबारे पहिलो स्वीकारोक्ति आएको थियो।
ट्रम्पले समेत आफू हनोईतर्फ लागेको भन्दै ट्वीट गरेका छन्।
ह्वाइट हाउसकी प्रवक्ताले बताएअनुसार बुधवार साँझ उनीहरूले एक्लाएक्लै सङ्क्षिप्त वार्ता गर्ने बीबीसीले जनाएको छ। त्यसपछि आफ्ना केही सल्लाहकारसँगै बसेर साँझको खाना खानेछन्। बिहीवार भने उनीहरूबीच चरणबद्ध वार्ताहरू हुनेछन्।

यो बैठक खासगरी सिङ्गापुर वार्ताबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै त्यसलाई कार्यान्वयन तहमा लैजाने थप आधारहरू तयार गर्ने बताइएको छ।


नक्कली किमलाई देशनिकाला

किम जङ-अनजस्तै देखिने एक युवालाई शिखरवार्ताअघि भियतनामबाट निकाला गरिएको छ। यसअघि किम जङ-अनको नक्कल गर्ने हावर्ड एक्स र ट्रम्पजस्तो देखिने रसेल ह्वाइटलाई प्रहरीले समातेर झपारेको थियो।



You might also like
Loading...