सरकार र आन्दोलनरत शिक्षकबीच ३ बुँदे सहमति, आन्दोलन फिर्ता


सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी) का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ ।




स्वतः स्थायी हुनुपर्ने माग राखेर आन्दोलनरत शिक्षक र सरकारबीच बुधबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा ३ बुँदे सहमति भएको हो ।
सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले विहीबार जारी गरेको विज्ञप्तिमा आन्दोलन फिर्ता गरिएको जनाइएको छ । छुट अस्थायी र स्रोत व्यक्ति सट्टा शिक्षक भने उक्त सहमतिमा समावेश छैनन् ।
३ बुँदे सहमतिमा सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटामा नियुक्त शिक्षक र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक÷ खुल्ला प्रतियोगितात्मक परीक्षाबाट एकपटकका लागि स्थायीको प्रक्रियामा लैजाने उल्लेख छ । त्यस्ता शिक्षकलाई १ पटकका लागि उमेर हद नलाग्ने पनि सहमतिपत्रमा उल्लेख छ ।
त्यस्तै मन्त्रालय र शिक्षकबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउने सहमति पनि भएको छ । आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा केही शिक्षक घाइते भएका थिए । त्यसमध्ये केही अहिले उपचाररत छन् ।

सरकार र आन्दोलतरत पक्षबीच भएको सहमतिको तेस्रो बुँदामा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेर शिक्षकहरु पठनपाठमा फर्कने उल्लेख छ ।




शिक्षा ऐनमा देशभरका ४० हजार राहत शिक्षकलाई दरबन्दीमा परिणत गरी ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गर्ने प्रस्ताव सरकारले गरेपछि स्वतः स्थायी माग गर्दै देशभरका राहत, अस्थायी, करार र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका थिए ।

केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो ।

 

शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, शिक्षकमाथि अश्रुग्याँस प्रहार




सम्बन्धित
Loading...