गण्डक जलविद्युत् केन्दमा वर्षौदेखि उत्पादन कम


–पुरुषोत्तम सुबेदी

नवलपरासी, १४ चैत (रासस) : पश्चिम नवलपरासीको सूर्यपूरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा वर्षौदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा अहिले ३ दशमलब ५ मेगावाट मात्रै विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।
केन्द्रमा जडित तीन वटा टरवाइनमध्ये त्यसमा जडित उपकरण र मेसीनरीका समान पुरानो हुँदै जानुका साथै हाल दुई वटा बिग्रिएर पूर्ण रुपमा थन्किएका छन् भने एउटा मात्रै २ नं टरवाइन सञ्चालनमा रहेको छ । करिब १० देखि १२ वर्ष अघिबाट थन्किएका टरवाइन नं. १ का मर्मत सम्भार नहुनु र टरवाइन न. ३ दुई महीनादेखि बिग्रेको केन्द्रका प्रमुख कपिलदेव मान्जनले बताउनुभयो ।

बाँकी सञ्चालन रहेको एउटा टरवाइनसमेत जिर्ण अवस्थामा रहेको छ । भारतीय गण्डक नहरमा प्रयाप्त पानी नहँुदा सो टरवाइनले समेत लक्ष्यअनुसारले विद्युत् उत्पादन गर्न सकेको छैन । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार पश्चिम गण्डक नहरमा पानी खोल्ने वा नहरमा पानी छोड्ने पूर्ण अधिकार भारतीय पक्षसँँग निहित छ । केन्द्रमा आवश्यक पर्ने पानी गण्डक नहरमा नहुनु र नहरमा भएको बालुवा सफाइ नहुँदा एउटा टरवाइनले पनि क्षमताअनुसार विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले जनाएको छ ।

केन्द्रमा एउटा टरवाइनका लागि नहरमा चार हजार क्युसेक पानी आवश्यक भए पनि आवश्यकताअनुसार पानी नहुनु र नहरमा हेड मर्मत नहँुदा अहिले सञ्चालनमा रहेको एउटा टरवाइनबाट समेत पूर्ण रुपमा उत्पादन हुन नसकेको केन्द्रका प्रमुख मान्जनले बताउनुभयो ।

करीब ४० वर्षदेखि जडान भएका केन्द्रका अधिकाशं उपकरणहरु पुराना रहेका छन् । केन्द्रलाई पूर्ण क्षमताअनुसार सञ्चालनमा ल्याउन वृहत मर्मत सम्भार योजना आवश्यक रहेको बताइएको छ । पुरानो प्रविधिका मेसिनरीका स्थानमा नयाँ मेसिनरी उपकरण जडान गरी क्षमताअनुसार उत्पादन दिन सकिने अवस्था रहेको केन्द्रले जनाएको छ ।

दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी सञ्चालनमा ल्याउन करीब रु एक अर्ब बराबरको आर्थिक लगानी हुन आवश्यक देखिएको केन्द्रका प्रमुख मान्जनले जानकारी दिनुभयो । सो केन्द्रलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन यस क्षेत्रका उद्योगी व्यवसायी आर्थिक लगानी गर्न तयार रहेका बताइएको छ । आर्थिक कारणले मर्मत सम्भार हुन नसकेको भए उद्योगी व्यवसायी आर्थिक लगानी गर्न तयार रहेका उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का संयोजक गुणनिधि तिवारीले बताउनुभयो ।

केन्द्रलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन उद्योगी व्यवसायीहरुले पटकपटक सरकारसँग माग गरेको भए पनि सरकारी निकाय पूर्ण सकारात्मक नदेखिएको तिवारीले जानकारी दिनुभयो । केन्द्रलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन लाग्ने सबै आर्थिक रकम दिन निजी क्षेत्र तयार रहेको उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताउनुभयो ।

उक्त केन्द्रमा रहेको सवस्टेशनमार्फत विद्युत् भारतको रामनगरमा आयात निर्यात हुने तथा १३२ केभीमा बुटवल र ३३ एवं ११ केभीमा बिजुली परासी क्षेत्रमा वितरण गरिँदै आएको छ । उक्त विद्युत् गृह सन् १९७९ मा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको थियो । भारत र नेपालको सम्झौताअनुसार पावर हाउस सन् १९८१ मा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । करिब ३२ बिघा क्षेत्रफलमा फैलिएको उक्त विद्युत् केन्द्रका अधिकांश भवनहरु र संचरना तथा मेसिनरी उपकरण जिर्ण भइसकेका छन् । केन्द्रमा हाल ४४ जना कर्मचारी कार्यरत छन् ।







सम्बन्धित
Loading...