बुधबारबाट नवलपुरमा निममित विद्युत आपूर्ति हुने, ट्रान्सफर्मर जडान कार्य चल्दै

174







नवलपरासी, १९ चैत्र । एक सातादेखि अन्धकारमा रहेको नवलपुरमा बुधबारदेखि नियमित विद्युत आपूर्ति हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय कावासोतीका प्रमुख राजिवकुमार शर्माका अनुसार अहिले प्रगतिनगर सवग्रिडमा ट्रान्सफर्मर जडान कार्य चलेको छ । बुधबारसाँझसम्म विद्युत सेवा नियमित हुन सक्ने उनले बताए ।
अहिले नवलपुरमा पुरा क्षमताको विद्युत नहुँदा साँझ विहान बत्ति बाल्न बाहेक अन्य काम हुन सकेको छैन । कतिपय स्थानमा कम क्षमताको विद्युत पनि दिनमा २, ३ घण्टा मात्र आपूर्ति भएको छ । अत्यधिक लो भोल्टेज रहेका कारण निक्कै कम वाटको वल्ब मात्र बोल्ने गरेको छ भने कतिपय बेला मोबाइल समेत चार्ज हुन नसक्ने विद्युत प्रवाह भएको छ । झण्डै २० देखि ३० केभी विद्युत चाहिने नवलपुर जिल्लामा अहिले भरतपुरबाट र बर्दघाटबाट २, ३ केभी विद्युत मगाएर काम चलाइएको शर्माले बताए ।
एक साता अघि परेको चट्याङ्गले नवलपुर अर्थात पूर्वी नवलपरासीको प्रगतिनगरमा रहेको सबग्रिड स्टेशनमा रहेको ३३ केभीको ट्रान्सफर्मरमा समस्या आएको थियो । भरतपुर बर्दघाट राष्ट्रिय प्रशारण लाइनबाट ३३ केभी विद्युत प्रगतिनगरमा झारेर त्यसबाट नवलपुरमा विद्युत वितरण गरिदै आएको थियो ।
विद्युत अवरुद्ध हुँदा नवलपुरमा रहेको चौधरी उद्योग, गोर्खा बु्रअरी, सिजी सिमेन्ट जस्ता ठूला उद्योगका साथै क्रसर उद्योग, दुधडेरी, बरफ तथा आइक्रिम उद्योग, छापाखाना, स्थानीय रेडियो, टिभी, पत्रपत्रिका, ग्रिल उद्योगहरु प्रभावित भएका छन् ।
त्यसैगरी विद्युत सेवा नभएका कारण बैंकमा समेत बेलाबेलामा सेवा अनियमित हुने गरेको छ ।


You might also like
Loading...