नेकपा एकता, सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनुपर्ने सुझाव दिएका छन् । तर, अध्यक्षद्वय ओली र दाहाल वैशाख पहिलो सातासम्ममा सहमति गर्ने, नभए ‘पेलेरै’ भए पनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन् ।
अध्यक्ष ओली र दाहालबीच यस विषयमा पटक–पटक छलफल भएको राजधानी दैनिकमा खबर छ ।




नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीच विवाद छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।
नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पार्टीका शीर्ष नेतृत्व तहमा एकता टुंगो लगाउने विषयमा घनीभूत छलफल भइरहेको बताए । तर, छलफल निष्कर्षमा पुग्न नसकेको बताउँदै उनले सबैलाई समेटेर योग्यता, क्षमता एवं वरिष्ठताका आधारमा जिम्मेवारी बाँडफाँट हुनुपर्ने बताए ।
‘एकता टुंगो लगाउन ढिला भएकै हो । तर, अब छिटट्ट नै टुंगो लाग्दै छ,’ साहले भने, ‘पार्टीका शीर्ष नेतृत्व आन्तरिक गृहकार्यमा जुटिसक्नुभएको छ । सबैलाई समेटेर जिम्मेवारी दिने विषयमा छलफल चलिरहेको छ ।’
३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । घोषणा सभालाई सम्बोधन गर्दै ओली, दाहाल, नेपालसहितका शीर्ष नेताले तीन महिनाभित्र एकता टुंगो लगाउने उद्घोष गरेका थिए । तर, ११ महिना पुग्दा समेत अहिलेसम्म एकताको टुंगो लाग्न
सकेको छैन् ।
नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले वैशाखको पहिलो साताभित्रै सबै कमिटी टुंगो लागिसक्ने बताए । शीर्ष नेतृत्वबीच आन्तरिक गृहकार्य अन्तिम चरणमा पुगेको बताउँदै उनले अब ढिलोमा ९ वैशाखभित्रमा एकता टुंगो लाग्ने बताए ।
‘शीर्ष नेतृत्व आन्तरिक गृहकार्यमै हुनुहुन्छ । अन्तिम चरणको छलफल चलिरहेको छ,’ पौडेलले भने, ‘ढिलोमा ९ वैशाखभित्रमा टुंगो लगाएर घोषणा हुन्छ ।’
एकता टुंगोमा भइरहेको ढिलाइले त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत भइरहेको छ । पार्टीको बैठक, प्रशिक्षण, भेलालगायतका गतिविधि अहिले शून्यजस्तै भएको छ । जिम्मेवारी बाँडफाँट एवं एकता टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता नै बेरोजगार भएका छन् ।
नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले एकता टुंगो लाग्नमा पार्टी नेतृत्वको कमजोरी रहेको बताए । नेतृत्वको ढिलाइकै कारण समयमा टुंगो लाग्न नसकेको उल्लेख गर्दै उनले सबैलाई मिलाएर जिम्मेवारी दिनुपर्ने बताए ।
‘नियतवश मापदण्ड, प्रक्रिया, विधि र आधारविपरीत टुंगो लगाउने प्रयास भए त्यसको परिणाम नराम्रो हुन सक्छ,’ खतिवडाले भने, ‘सबैलाई मिलाएर जिम्मेवारी दिनुपर्छ, एकताको नाममा नियतवश प्रक्रियाविपरीत काम भए पार्टीलाई दुर्घटनातर्फ धकेल्ने काम मात्र हुन्छ ।’
अध्यक्षद्वय ओली र दाहालले भए सहमतिमै नभए पेलेरै भए पनि नेतृत्वको घोषणा गर्ने तयारी गरेपछि नेता नेपालको समूहले विधि, प्रक्रिया, मापदण्ड, वरीयता एवं क्रियाशीलतालाई ध्यान दिनुपर्ने सुझाव दिँदै आएको छ । सचिवालय सदस्य वामदेव गौतमलगायतका नेताले समेत यही सुझाव दिएका छन् ।

पछिल्लो समय गठन भएको एकता कार्यदल विघटन गर्दै सचिवालय कमिटीले अध्यक्षद्वयलाई प्रस्ताव तयार गर्न जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारीअनुसार अध्यक्षद्वय ओली र दाहालले सचिवालयका नेताहरूसँग छलफल गरिरहेका छन् ।
केन्द्रीय कमिटी भागबन्डाकै अनुपातमा जिल्ला नेतृत्वको बाँडफाँट टुंगो लगाउने समझदारीअनुसार तत्कालीन एमालेले करिब ४५ र माओवादी केन्द्रले ३२ जिल्लाको नेतृत्व लिने तयारी गरेको छ । जसअनुसार पूर्वएमालेले पाउने नेतृत्वमा आफ्नो समूहलाई ‘बाइपास’ गरिएको भन्दै नेपाल समूहले विधि, प्रक्रिया र मापदण्डका आधारमा टुंगो लाग्ने गरी समानन्तर सूची तयार गरेको छ ।







सम्बन्धित
Loading...