राजपामा मच्चियो रडाको
काठमाडौँ — फुट र जुटको राजनीतिबाट अघि बढेका मधेसकेन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ । दुई वर्षअघि ९विसं २०७४ वैशाख ८ गते पार्टी एकता घोषणा सभामा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ ।
पार्टीभित्रको असन्तुष्टिलाई चिर्दै परिपक्क नेतृत्व प्रदान गर्न नसक्दा राजपाभित्र अहिले रडाको मच्चिएको छ । संविधान संशोधनलगायत मुद्दामा सङ्घर्ष गरेको राजपाले आफ्नो एजेण्डामा अडिग रहन त सकेन नै बरु सरकारमा सामेल भएर पनि टिकेन ।
नेतृत्वको महत्वकांक्षी र परिपक्क एजेण्डाको अभावमा राजपा रुमलिन पुग्यो । दुई वर्षको अवधिमा पार्टी जहाँको त्यही रह्यो । पार्टीकै केही असन्तुष्ट पक्षले पार्टी नै परित्याग गरी भिन्न मोर्चाबन्दी गरे । पार्टीको स्पष्ट कार्यदिशालाई स्थापित गर्न नसक्दा राजपा आफैँ रुमलिएको छ । नेता कार्यकर्तामा सन्त्रास पैदा भएको छ । गाउँ, वडा र जिल्ला तहदेखि केन्द्रीयस्तरमा नेता कार्यकर्ताबीच राम्रो तालमेल छैन । पार्टीको एकताको महाधिवेशन घोषणा गरे पनि त्यसलाई विभिन्न बहानामा लम्ब्याउने चालबाजी भइरहेको छ ।