बुद्धमङ्गल तालको सौन्दर्यीकरण हुँदै

95








मोहन पौडेल

लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी पश्चिम नवलपरासीस्थित ऐतिहासिक बुद्धमङ्गल तालको सौन्दर्यीकरण गर्न थालिएको छ । जिल्लाको बर्दघाट नगरपालिका–१२ स्थित बुद्धमङ्गल ताललाई प्रदेश नं ५ सरकारले रु २० लाखको लागतमा सौन्दर्यीकरण गर्न शुरु गरेको हो ।


सुन्दर र रमणीय वातावरण रहेको यो तालको उचित संरक्षण हुन नसक्दा झारैझारले भरिएको थियो । तालमा पर्याप्त पानी भए पनि झार धेरै भएकाले तालको सुन्दरता नै हराएको थियो । लामो समयपछि अहिले यस ताललाई सौन्दर्यीकरण गर्न थालिएको हो ।

पच्चीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रदेश सरकारले यस वर्षलाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउँदैछ । तालको ऐतिहासिकता गौतमबुद्धसँग जोडिएकाले प्रदेश सरकारले भ्रमण वर्षको अवसर पारेर यस ताललाई सौन्दर्यीकरण गर्न शुरु गरेको प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । अहिले बुद्धमङ्गल तालको सौन्दर्यीकरणका लागि धमाधम काम भइरहेको छ । अधिकारीका अनुसार हालको बजेटले पोखरीको झारपात हटाइनुका साथै करीब डेढ फिट गहिरोसम्मको माटो निकालेर सफा गरिनेछ ।

विगतमा पोखरीको चारैतिर बनाएको पर्खाल सानो भएकाले उक्त पर्खाललाई पनि केही फिट बढाइनेछ । यसैगरी पोखरीमा गएर स्नान गर्ने प्रयोेजनका लागि केही सिँढी पनि बनाइने प्रदेशसभा सदस्य अधिकारीले जानकारी दिनुभयो ।

साढे छ बिघा क्षेत्रमा फैलिएको र गोलाकार आकृतिमा रहेको यो ताल आजसम्म सुकेको दृष्टान्त छैन । निर्मल र कञ्चन पानी रहेको यस तालको सम्बन्ध बुद्धसँंग जोडिएकाले लुम्बिनी भ्रमण वर्षमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा बुद्धमङ्गल ताललाई बुद्धसर्किटसँग जोडेर धार्मिक पर्यटनको रुपमा विकास गरिने लक्ष्य राखिएको बताउनुभयो । तालको वरपर गत वर्षको करीब रु पाँच लाखको बजेटबाट रिङरोड बनाइएको तथा अहिले पनि सो कार्यका लागि रु सात लाख बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

हुलाकी सडकबाट आधा किलोमिटर उत्तरमा पर्ने यस तालको प्रवेशद्वार, सौन्दर्यवृद्धि र संरक्षणमा पूर्वसांसदद्वय विक्रम खनाल र सिन्धु जलेसाले पनि सहयोग गर्नुभएको थियो ।



You might also like
Loading...