लोकतन्त्र

152









हिमाल हास्ने सुनको बिहान यो,
सुशान्त मेरो सपना चिहान भो ।
सुमार्ग रोजे अनि बन्छ राष्ट्र यो,
धरा उठे पो तव लोकतन्त्र यो ।
।१।
न गास बासै कपडा न ता कुनै,
गरीब साह्रै दुखमा सधै उनै ।
निशा छ सारा झुपडी रूदै छ हो,
दियो बले पो तब लोकतन्त्र यो ।
।२।
उनै पुगे ती धनका वलिष्ठ भै,
निराश हामी नवलोकतन्त्र खै ।
मसानजस्तै दिनरात शून्य भो,
उषा खिले पो तव लोकतन्त्र यो ।
।३।
न शान्ति आयो न त रात अन्त्य भो,
सुसाध्य हाम्रो अलकापुरी थियो ।
रूदै छ धर्ती किन आज बोझ भो,
सुधा मिले पो तब लोकतन्त्र यो ।
।४।ः
न भक्त छन् झल्मल दीप बाल्छ को,
उजाड भो सुन्दर शान्त देश यो ।
छ आज दुष्कर्म बिहाल राष्ट्र भो,
वसन्त आए तब लोकतन्त्र यो ।
।५।
अझै छ पाखण्ड घमण्ड स्वार्थको,
पुरिन्छ बाटो कहिले विनाशको ।
सधै उज्यालो धरती प्रभातको,
सुवर्ण चम्के तब लोकतन्त्र यो ।
।६।
शब्दयात्री कविता संग्रहबाट



You might also like
Loading...