भूमाफिया विरुद्ध आन्दोलन आवश्यकः सुब्बा
नवलपुर । राष्ट्रिय भुमि अधिकार मञ्चका केन्द्रिय अध्यक्ष सरस्वती सुब्बाले भूमिहिनहरुको अधिकारका लागि आन्दोलनका विकल्प नभएको बताएका छन् ।
विहीबार कावासोतीमा जिल्ला भूमि अधिकार मञ्च नवलपुरको प्रथम जिल्ला सम्मेलनका उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
नवलपुर जिल्ला भरीका भूमिहिन तथा सुकुम्बासीहरुको सहभागिता रहेको सम्मेलनमा उनले सरकारले भूमाफियाहरुले हडपेको भूमिको भूमाफियाहरुलाई लालपूर्जा दिने गरी कानुन ल्याउने तयारी गर्न लागेको भन्दै त्यसको विरोध गर्नु आवश्यक रहेकोमा जोड दिए ।
उनले भने – भूमि प्राकृतिक सम्पत्ति हो । यसमा सबैको बराबर हक लाग्छ । जोतभोग गर्नेको नाममा लालपूर्जा नहुने तर भूमाफियाको नाममा सरकारी जग्गाको पनि लालपूर्जा हुने यसका विरुद्ध आन्दोलन गर्न जरुरी छ ।
उनले वडा कार्यालयदेखि स्थानीय तह हुँदै सिंहदरबार घेराउ आन्दोलन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय भुमि अधिकार मञ्चका पूर्व केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जी, मध्यवर्ती क्षेत्र जनाअधिकार मञ्चका अध्यक्ष छविलाप न्यौपाने, महासचिव चित्रबहादुर माझी, भूमि अधिकार मञ्च नवलपरासीका पूर्व अध्यक्ष पूर्णकुमार बोहोरा लगायतले शुभकामना राखेका थिए ।
कार्यक्रममा अहिले बन्द सत्र चलिरहेको छ । कार्यक्रमको सञ्चालन पत्रकार कमला रानाले गरेका थिए ।