बालबालिका र श्रमका कुरा
अन्तराष्ट्रिय श्रमिक दिवस मनाउने तयारी गर्दै छौं। हामी यो दिवस पनि तामझामका साथ मनाउने छौं। यसमा कसैको दुई मत छैन । बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विशेष रुपमा यो दिवस मनाउने गर्दछन् ।
नेपालमा पनि बालश्रमिक छन् बालश्रमिक अन्त्य गरेर उनीहरुलाई बढ्ने वातावरण बनाउनु पर्छ, परिवारको सम्पर्कमा ल्याएर पुनस्थापित गर्नुपर्छ, बालश्रम अन्त्यका लागि सचेतना फैलाउँनु पर्छ भनेर हामी नियमित फलाक्ने गर्दछौं। तर, उपलब्धी भने खासै हुन सकेको छैन। नवलपरासीकै कुरा गर्ने हो भने पूर्वी नवलपरासीको देवचुली नगरपालिका र पश्चिम नवलपरासीको सुनवल नगरपालिका बालमैत्री नगरपालिका भईसकेको छ। यी दुई नगरपालिकामा बालश्रमिक त्यति देखिनैनन् तर होटल तथा घरहरुमा कतै न कतै बालश्रमिक रहेका कुराहरुबाट यि नगरपालिकाहरु पनि अछुतो भने रहन सकेको छैन ।
अन्तराष्ट्रिय बाल महासन्धीमा कुन उमेरका बालबालिकालाई कुन तहसम्मको काम लगाउन पाइन्छ, कुन तहको काम लगाउन पाइन्न भन्ने प्रष्ट छ। नेपालले पनि त्यो बालबालिका सम्बन्धि अन्तराष्ट्रियमा हस्ताक्षर गरेको छ। महासन्धीमा उल्लेख भए अनुसार १४ बर्ष मुनिका बालबालिकालाई कुनै पनि श्रममा लगाउँन पाउँदैन भने १४ बर्षदेखि माथिका बालबालिकालाई जोखिममुक्त काममा मात्रै लगाउँन पाइन्छ। तर अहिले विद्यालय जाने उमेरका बालबालिकाहरु होटल तथा नाम चलेका रेष्टुराँहरुमा बालश्रमिकको रुपमा काम गरेको पाइएका घटनाहरु प्रष्ट बाहिर आएका छन्। ठमेलमा प्रहरीले ठूलैसंख्यामा जोखिमयुक्त काम गरिरहेका बालबालिकाको उद्दार गरे। त्यति मात्र होइन अहिले विद्यालय जाने उमेरका बालबालिकाहरु खोलामा गिटी चाल्नेदेखि ट्याक्टरमा लेवरको रुपमा काम गर्नेसम्म गरिएको पाइएको छ। यसको अन्त्यका लागि राज्यले नै विशेष ध्यान पुर्याउनु आवश्यक छ ।