बजेट नगर केन्द्रित भएको भन्दै बर्दघाटकाेे कार्यपालिका वैठक वहिस्कार
नवलपरासी जेठ २९
बर्दघाट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट सिलिङ्गका लागि छलफल गर्न राखेको कार्यपालिका बैठक नपालि कांग्रेसबाट निर्वाचित भएका वडा अध्यक्षहरुले बहिस्कार गरेका छन् । नगर प्रमुखले एकलौटी ढंगबाट अधिकांश बजेट नगर केन्द्रित गरी वडामा कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्ट भएका वडा अध्यक्षहरुले बैठक बहिस्कार गरेका हुन ।
बजेटको विषयमा छलफल गर्न २ दिनको समय माग गरिएकोमा समय पनि उपलब्ध नगराएको र विगतका बर्षको बजेटको समिक्षा नगरी बहुमतको दम्ब देखाएर आफुहरुको कुरा सुनुवाई नभएपछि बैठक बहिस्कार गरेको वडा नम्बर १० का अध्यक्ष राजु मिश्रले बताए । उनले वडामा अत्यन्त कम बजेट विनियोजन गरेको र बजेट विकेन्द्रिकरण हुनुपर्नेमा मेयरले नगरपालिका माताहत केन्द्रिकरण गर्ने गरी तयार पारिएको बजेट सिलिङ्ग मान्य नहुने बैठक बहिस्कार गरेका वडा अध्यक्षहरुको भनाई छ ।
एकलौटि ढंगले बजेटको छलफल अगाडि बढाईए आम जनतालाई सुसुचित बनाएर आन्दोलनमा उत्रिने र आफ्ना कुराहरु सुनुवाई नभए नगर कार्यपालिकामा तालावन्दि समेत गरिदिने चेतावनी बैठक बहिस्कार गरेका वडा अध्यक्षहरुले चेतावनी दिएका छन् । उनीहरुले वजेटमा हेरफेर नगरिए वडाबाट कुनैपनि योजना नगपालिकामा पेश नगरिने बताएका छन् ।
नगर प्रमुख धिरज शर्माले भने बजेट निर्माण प्रकृयाका लागि अत्यन्त छोटो समय भएकोले छिटै पास गर्नुपर्ने भएकोले छोटो समयमा अध्ययन गरेर धारणा ब्यक्त गर्नका लागि आग्रह गरिएकोमा २ दिनको समय माग भएकोमा समय उपलब्ध गराउन गारोभएको बताए ।
शर्माले गत बर्षको तुलनामा बर्दघाट नगरपालिकामा केन्द्रबाट आएको बजेटमा जम्मा ३ प्रतिशत मात्र बृद्धि भएको र नगरपालिकाले वडामा पठाउने बजेटमा समग्रमा ५ प्रतिशत बृद्धि गरिएको उहांको भनाई छ । नगर प्रमुख शर्माले यस बर्ष कर्मचारीको तलव बृद्धि भएको, नगर प्रहरी राख्नुपर्ने र सामाजीक सुरक्षा भत्ता बृद्धि र अन्य खर्च पनि बढेकोले पर्याप्त रकम विनियोजन गर्न नसकिएको कुरा जानकारी हुंदा हुंदै नियोजित रुपमा बहिस्कार गरेको बताएका छन् ।
नगर कार्यपालिकाको बैठक वडा नम्बर ६ का अध्यक्ष रोहित थारु, वडा नम्बर ७ का अध्यक्ष धु्रव थारु, वडा नम्बर १० का अध्यक्ष राजु मिश्र, वडा नम्बमर ११ का तिर्थराज फौजदार वडानम्बर १५ का बल बहादुर बलाल र वडा नम्बर १६ का वडा अध्यक्ष शुकबहादुर गुरुङ्गले बैठकमा असहमती जनाउदै बैठक बहिस्कार गरेका हुन ।